Sagun Khabar
देउडा गीत ‘सम्झेई फूलभाडी’ सार्वजनिक

बैतडी–बैतडी घर भएका सर्जक मदन चुनाराको पहिलो प्रस्तुती ‘सम्झेई फूलभाडी’ देउडा गीत सार्वजनिक भएको छ । 

उक्त गीतमा लय र शब्द कृष्ण चुनाराको रहेको छ । बैतडीको पुर्चौंडी नगरपालिका–४ बागा चुनारीगाउँ घर भएका गायक कृष्ण चुनारा सानै उमेरदेखि गीत संगीतमा रुची राख्ने गर्दथे । तत्कालिन माओवादीको जनसांस्कृतिक टोलीका सदस्य समेत रहेका चुनारा अहिले रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका छन् ।  

मदन चुनाराको प्रस्तुतीमा रहेको सम्झेई फूलभाडी देउडा गीतमा कृष्ण चुनारा र गौरी भट्टले स्वर दिएका छन् । मनको आवाज स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा मदन चुनारा र सीता विश्वकर्माको अभिनय रहेको छ । 

विदेशी भूमिमा समेत स्थानीय कला र संस्कृति जोगाउने उद्देश्यले गीत गाउने गरेको गायक कृष्ण चुनाराको भनाइ रहेको त्यहाँबाट रमेश विवशले जानकारी दिएका छन् । 

यसअघि उनले मनको आवाज स्टुडियोबाट सार्वजनिक भएको परदेशी आमा बोलको गीतमा पनि लय दिएका थिए । मञ्जु भट्टको स्वर रहेको उक्त गीत समेत बजारमा आइसकेको छ ।

२०७३ सालमा कृष्ण चुनाराले आफ्नो पहिलो एल्बम ‘तु निराश जन भए’ सार्वजनिक गरेका थिए । उक्त गीत ओम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । 

२०७५ सालमा बिग परिवेश एचडी रेकर्डिङ स्टुडियोबाट दोस्रो एल्बम ‘मुई विदेश खाडी’ सार्वजनिक गर्दै चुनाराले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए ।

गायन र सिर्जनासँगै उनी वाद्यवादन क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । बैङ्गलोरस्थित मनको आवाज दोहोरी साँझमा प्रत्येक आइतबार हार्मोनियम बजाउँदै दोहोरी खेलाउने कामसमेत चुनाराले गर्दै आएका छन् । 

विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र लोकसंगीतप्रतिको मोहलाई निरन्तरता दिइरहेका कृष्ण चुनारा प्रवासमा नेपाली लोकसंगीतलाई जीवन्त राख्न योगदान पु¥याइरहेका कलाकार हुन् । आफ्नो कला र सिर्जनामार्फत नेपाली मौलिक लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा उनको यात्रा अझै अगाडि बढिरहेको विवशले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update