Sagun Khabar
सिगासको बाढी प्रभावित क्षेत्रमा संघीय सांसद भण्डारीको टोली द्वारा अवलोकन

बैतडी -बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीको टोली बाढी प्रभावित क्षेत्र बैतडीको ढुंगाड पुगेको छ । 
गत असोज ३१ देखि कात्तिक २गते सम्म भएको अविरल बर्षाका सिगास गाउँपालिका–५ ढुंगाडमा सेति नदिको बाढी पसेको थियो । बाढीबाट त्यहाँका १सय १० घर परिवार प्रभावित भएकाछन् । उनिहरुको करिव १सय ५० बिगाह धानखेत बाढीका कारण बगरमा परिणत भएको थियो । काट्न ठिक्क भएको धान, बदाम र दलहन बाली सहितको खेत बगरमा परिणत भएको थियो ।


त्यस क्षेत्रको स्थलगत अवस्था बुझ्न सांसद भण्डारी सहितका एमाले नेताहरु ढुंगाड पुगेको पार्टिका जिल्ला कमिटि सचिवालय सदस्य कर्णबहादुर कुवरले बताए । ढुंगाडको ९५ प्रतिशत खेतीयोग्य जमिनमा क्षति पुगेको उनले बताए । कुवरले भने‘ तीन ठाउँबाट सेती नदी पसेर ढुंगाडको सबै खेत बगरमा परिणत भएको देखियो । अधिकांश घरहरु भित्र बाढी पसेकाले घरभित्र बालुवा पसेको छ । ढुंगाड स्थीत तीन वटा सिचाइँ कुलोेहरु, बाटो, खानेपानी योजनाहरु र झोलुंगे पुल बगेको छ । यहाँका सबै नागरिक पिडामा छन् । हाम्रो टोलिले यहाँका बासिन्दाका समस्याहरु टिपोट गरेका छौ । अब सम्बन्धीत ठाउँमा पुगाउछौँ ।’

स्वास्थ्य सन्देश
Atrya hospital


सिगासको चमडेखर्क, साउनखेत लगायतका ठाउँमा पनि पहिरोले क्षति पुगेको त्यहाँ पुगेका एमाले जिल्ला सचिवालय सदस्य रमील बमले बताए । ढुंगाडबासीले दार्चुला सदरमुकामको जस्तै तटबन्धको माग राखेको उनले बताए । बमले भने ‘सिगासको ढुंगाडमा मात्रै नभई ठाउँठाउँमा बाढी पहिरोको समस्या देखिएको छ । जिल्ला सदरमुकाम देखि निकै दुर्गममा रहेको सिगासका बासिन्दाहरुले हरेक पटकको बर्षाका बेला समस्या खेप्दै आएकाछन् । हामी बर्षाका कारण पिडामा परेका सबै प्रभावितहरु संग भेट गरेर वास्तविकता बुझ्ने क्रममा छौँ ।’


बाढीबाट प्रभावित ढुंगाड बासीका समस्या समाधान गर्नका लागि तत्कालिन र दिर्घकालिन कार्यक्रम बनाउनुपर्ने त्यहाँ पुगेका सांसद दामोदर भण्डारीले बताए । 


त्यहाँका बासिन्दाका समस्या अध्ययन गरि फर्केको भन्दै उनले सरकारले छिट्टै बिशेष कार्यक्रमको प्याकेज बनाई समस्या समाधान गर्नुपर्ने बताए । पुर्व अर्थराज्य मन्त्रि समेत रहेका सांसद भण्डारीले भने,‘दुर्गम भएकाले सिगासबासीका धेरै समस्याहरु छन् । सबै ठाउँमा उचित बाटो थिएन्, सडक पुग्दैथियो, खोलाहरुमा पुल बन्ने क्रममा थिए, खानेपानीका समस्याहरु थिए । त्यसैमा अहिले बाढी पहिरोले बितण्डा मच्चाउदाँ पिडा माथी पिडा थपेको छ । उनिहरुको पिडामा मलम लगाउन मैले मेरो स्तरबाट गर्नुपर्ने सबै प्रकारको पहल गर्नेछु । उनिहरुको तल्तालिन समस्या समाधान गर्न र दिर्घकालिन योजना बनाउन राज्यका सम्बन्धीत सबै निकायमा पुगेर पहल गर्नेछु ।’ आफुले ढुंगाडबासीको समस्या समाधान गर्न सरकारका सबै निकायहरुसंग छलफल गर्ने उनले बताए । 


ढुंगाडका बाढीपीडितहरुले अहिलेसम्म राहत पाएका छैनन् । बाढीले क्षति पुर्याएको दुई हप्ता पुग्नै लाग्दा पनि स्थानीयबासीहरु सेतीको बगरमै बसिरहेको गुनासो गरेकाछन् ।


प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्य मन्त्रि त्रिलोचन भट्ट त्यहाँ पुगेपनी राहत दिन्छु भनेका कुरा बोलीमै सिमित रहेको स्थानीय राजेन्द्र चन्दले बताए । उनले भने‘ बिगतको तुलनामा अहिले सेति नदिले धार परिवर्तन गरेको छ । अब हामी कम बर्षा भएपनि बाढीको जोखिममा पर्छौ । त्यसैले कित बस्ती जोगाउन परिपक्क तटबन्ध लगाइदिनुप¥यो, नभए बस्ती सार्नु प¥यो । हाम्रो माग यहि हो । हामीलाई राहतका लागि भनेर दाल,चामल बाड्नुको अर्थ छैन् । त्यो राहत हामी स्वीकार पनि गर्दैनौँ ।’ 


ढुंगाडमा सेतीको बाढी पसेर स्थानियबसी ३दिन सम्म टापुमा थुनिएका थिए । एमाले नेताहरु सिगासका अन्य बाढी प्रभावित ठाउँमा पनि पुग्ने त्यहाँ पुगेका नेताहरुले बताएका छन् । सिगासको वडा न. ५मा समेत सेति नदिको बाढीले किसानको ५०बढि बिगाह खेतबारी बगाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update