Sagun Khabar
बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते 

बैतडी –बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ  । पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र  ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए  ।

Atrya hospital

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए । घाइते हुने सोही ठाउँका ३५ बर्षीय मोहनसिंह भण्डारी, ३० बर्षीय हरिसिंह भण्डारी,२८ बर्षीय मदनसिंह भण्डारी, ५० बर्षीय खेमसिंह भण्डारी, २४ बर्षीय दिलिपसिंह भण्डारी र चालक तेजबहादुर बोहरा रहेका छन ।  

जिप सडकबाट करीब ५सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update