काठमाण्डौ – एशियाली खेलकुद छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । सिङ्गापुरमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले मलेशियालाई १६७ रनले हरायो ।
नेपालले दिएको २७६ रनको लक्ष्य पछ्याएको मलेशियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनायो । मलेशियाका कप्तान सयद अजिजले ५४ रन बनाए । नेपालका शेर मल्लले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो । नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भए ।
भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी र समग्रमा १०औँ खेलाडी हुन् । भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए ।
यस्तै आजको खेलमा आसिफ शेखले ६८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । मलेशियाका विरनदीप सिंहले ३ विकेट लिए ।
यो जीतसँगै नेपाल समूह विजेता बनेको छ । यस्तै मलेशिया समूह उपविजेता बनेको छ । नेपाल र मलेशिया दुवै सेमिफाइनलमा पुगिसकेका छन् । नेपाल र मलेशियाले यसअघिको खेलमा चीनलाई हराएका थिए ।
यस्तै समूह ‘बी’ बाट हङकङ र ओमान सेमिफाइनलमा पुगिसकेका छन् । भोलि हुने हङकङ र ओमानबीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ ।





