
बैतडी –बैतडीको सिगास गाउँपालिकामा ४८ वर्षीय पुरुषले २३ बर्षीया महिला बलात्कारको प्रयास गरेको आरोप लागेको छ । बुहारी नाता पर्ने महिलामाथि ती पुरुषले जबरजस्तीकरणीको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
भाद्र १९ गते राति १० बजेको समयमा बलात्कारको प्रयास भएको भएपनि गएको बुधबार मात्रै प्रहरीमा जाहेरी दर्ता भएको बताइएको छ । घरको ढोका फुटाएर बलात्कार प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
पीडितका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका र उनलाई घरमा बोलाएर प्रहरीमा जाहेरी दिएको पीडित महिलाले बताइन् । घटनाका बिषयमा जनप्रतिनिधिहरुलाई जानकारी गराएपनि कुनै सहयोग नमिलेको उनले गुनासो गरिन् ।
आरापित पुरुष फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपित फरार रहेकै कारण उनको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।