Sagun Khabar
पालिका हाँकेका बिष्ट माननीय बन्ने दौडमा,भण्डारी बन्लान त तगारो ? 

बैतडी –नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली काँंग्रेसको राजनीति शुरु गरेका बिरबहादुर बिष्ट बैतडी प्रदेश सभा क्षेत्र नं.(क) मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको सहपाठीको रुपमा रहेका बिष्टले प्रदेश सभा क्षेत्र नम्बर (क)का लागि टिकट ल्याएपछि अहिले उनी चुनानी प्रचारप्रसारमा जुटेका छन् । टिकटको चर्चामा रहेका कांग्रेस नेता हरिमोहन भण्डारीलाई पछि पार्दै उनी टिकट ल्याउन सफल भएका हुन् । यता भण्डारीले भने स्वतन्त्रबाट उम्मेदवारी दिएर चुनावी मैदानमा रहेका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सुर्नया गाउँपालिकामा अध्यक्ष जितेका बिष्ट यो चुनावमा प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा रहेका छन् । नेपाली कांग्रेस बैतडीका उपसभापति समेत रहेका बिष्ट अहिले मत माग्नका लागि घरदैलो अभियानमा छन् । 

नेपाली कांग्रेसभित्रै हरिमोहन भण्डारीले ‘बागी’उम्मेदवारी दिएपछि निकै चुनौती भने देखिएको छ । भण्डारीले कांग्रेसकै मत काट्ने भएकाले बिष्टलाई त्यसले क्षति पुर्याउने आँकलन हुन थालेको छ । 

कांग्रेसभित्र देखिएको किचलोको फाइदा एमाले उम्मेदवारलाई पुग्ने देखिएको छ । गठबन्धन र कांग्रेसभित्रै देखिएको किचलोको फाइदा आफूहरुलाई हुने एमाले उपसचिव लोकेन्द्र भण्डारीले बताए । प्रदेश सभा क्षेत्र नम्बर (क)मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पाल चुनावी मैदानमा छन् । उनको जित सुनिश्चित रहेको भण्डारीले दाबी गरेका छन् । अहिले कांग्रेस र स्वतन्त्रका उम्मेदवार  दोश्रो हुने  भण्डारीको भनाइ छ । उनले भने ‘हामी यो क्षेत्रमा सहजै रुपमा चुनाव जित्छौं । गठबन्धनभित्रको किचलोले पनि हामीलाई फाइदा भएको छ ।’

तर यता नेपाली कांग्रेसका युवा नेता समेत रहेका बिष्ट यो कुरा मान्न तयार छैनन् । नेपाली कांग्रेसको मत आफूलाई आउने र गठबन्धन भएका कारणले माओवादीको मत समेत पाएर चुनाव जित्ने उनले दाबी गरेका छन् । उनले भने ‘नेपाली कांग्रेसको मत कांग्रेसका उम्मेदवार बाहिर जाँदैन् । गठबन्धन भएका कारण माओवादीको मत समेत आउनेछ । त्यस कारण हामी चुनाव जित्ने कुरामा समस्या छैन् ।’

नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्ताहरुलाई कांग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सर्कुलर जारी गरिसकेकाले बागी उम्मेदवारलाई भोट नजाने कांग्रेस सचिव देवराज जोशीले बताए । उनले भने ‘पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध जाने पार्टीको नेता कार्यकर्ता होइन् । कांग्रेसका नेता कार्यकर्ताहरुलाई आधिकारिक उम्मेदवारलाई भोट हाल्छन् । यसमा दुईमत छैन् ।’

यता कांग्रेसबाटै विद्रोह गरेका हरिमोहन भण्डारीले पाटन र पुर्चौडीमा सम्पर्क कार्यालय स्थापना गरिसकेका छन् । अधिकांश कांग्रेसका भोट आफूलाई आउने उनले दाबी गरेका छन् । आफू स्वतन्त्र उम्मेदवार भएकाले सबै पार्टीकाले आफूलाई भोट दिने उनको दाबी छ । 

अहिले भण्डारीले पनि चुनावी प्रचार अभियानलाई आक्रामक रुपमा अघि बढाएका छन् । कांग्रेस नेता कार्यकर्ता फकाउनमै उनी व्यस्त रहेका छन् । डिलाशैनी गाउँपालिका वडा नं ३ का सभापति सोभानसिंह बोहराले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार भण्डारीलाई सघाउने बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update