Sagun Khabar
बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप लगाइँदै 

बैतडी –बैतडीमा बाख्रालाई पिपिआर खोप लगाउने कार्य शुरु भएको छ । पिपिआर रोगबाट बचाउन किसानहरुले पालेका बाख्रालाई खोप लगाउने कार्य शुरु भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए । 

जिल्लाका १० ओटै स्थानीय तहमा बाख्रालाई लगाउनका लागि पिपिआर खोप पठाइएको उनले बताए । प्रत्येक पालिकामा १० हजारका दरले खोप पठाइएको उनले बताए । यो महिनाभित्र जिल्लाभरीका ८० हजार बाख्रालाई पिपिआर खोप दिने लक्ष्य रहेको उनले बताए । उनले भने ‘पिपिआर रोगबाट बाख्राहरुलाई बचाउनका लागि खोप अभियान सञ्चालन गरेका हौं । यो अभियान जिल्लाभरी सञ्चालनमा रहेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाभरी किसानहरुले करीब डेढ लाखको हाराहारीमा बाख्रा पालेको अनुमान गरिएको छ । जिल्लाभरी दुई सय बढी व्यवसायिक बाख्रा पालक किसान कार्यालयमा सूचीकृत भएका पन्तले बताए । उनले भने ‘जिल्लाभरी डेढ लाख बढी बाख्रा रहेका हाम्रो अनुमान रहेको छ । यकिन तथ्यांक नभएपछि बाख्रापालनतर्फ किसानहरुको आकर्षण बढ्दो छ ।’

बाख्रामा पिपिआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान शुरु गरिएको पन्तले बताए । बाख्रामा पिपिआर रोग लागेमा पाखाला लाग्ने, रगत मिसिएको दिसा गर्ने लगायतका लक्षणहरु देखा पर्ने गरेका छन् । 

किसानहरुले पालेका बाख्रामा क्षति नहोस भनेर सरकारले पिपिआर खोप लगाउने कार्यलाई प्राथमिकता राखेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पन्तले बताए । सुदूरपश्चिमका मध्यपहाडी जिल्लाहरुमा पनि यो अभियान सञ्चालनमा रहेको उनले बताए । गत बर्ष पनि जिल्लामा बाख्राहरुलाई पिपिआर खोप दिइएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update