Sagun Khabar
पाताल भुवनेश्वर धाम क्षेत्रमा मदिरा निषेध 

बैतडी –बैतडीको प्रसिद्ध पाताल भुवनेश्वर धाम क्षेत्रमा मदिरा निषेध गरिएको छ । महाशिवारत्रीको अवसरमा धाममा ठूलो मेला लाग्ने भएकाले मदिरा निषेधित क्षेत्र घोषणा गरिएको सिद्धनाथ –पातालभुवनेश्वर धार्मिक वन समितिका सचिव मोहनबहादुर बिष्टले बताए । 

महाशिवरात्रीको दिनमा पाटन नगरपालिका वडा नं ४ र सुर्नया गाउँपालिका वडा नं २ को सम्पूर्ण क्षेत्रमा मदिराको कारोबारमा रोक लगाएको बिष्टले बताए । मदिराका कारण मेलाको समयमा विभिन्न खालका घटनाहरु हुन सक्ने भएकाले मेलास्थल आसपासमा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको उनले बताए । 

कसैले समितिको सूचना उल्लंघन गरी मदिराको कारोबार र सेवन गरेमा ५ हजार जरीवनासहित कानुनी कारवाही गरिने समितिका सचिव बिष्टले बताए । उनले भने ‘हामीले मेलास्थललाई शान्त र मार्यादित बनाउन मदिरा निषेधित क्षेत्र घोषणा गरेका छौं । कसैले सूचनाको उल्लंघन गरेमा कानुनी कारवाही हुन्छ ।’

पाताल भुवनेश्वर धाममा लाग्ने मेलामा हजारौं दर्शनार्थीहरु पुग्ने भएकाले मेलास्थलमा सरसफाइ गर्नुका साथै अन्य तयारी समेत भएको बिष्टले बताए । मेलालाई व्यवस्थित बनाउन स्वयंसेवकहरु समेत खटाउने तयारी भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update