बैतडी–नेपाल–भारत सीमा नाका झुलाघाट खुला रहने समय परिमार्जन गरिएको छ ।
सीमा क्षेत्रका नागरिकको माग अनुसार सीमा नाका खुला रहने समय बढाएको बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । गएको सोमबार भारतको पिथौरागढमा सम्पन्न भएको सीमा समन्वय समितिको बैठकले सीमा नाका खुला रहने समय बढाउने निर्णय गरेको उनले बताइन् ।
नयाँ सहमतिअनुसार अब गर्मीयाममा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म र हिउँदमा बिहान ६ देखि बेलुका ६ बजेसम्म सीमा नाका खुला राखिने भएको छ । यसअघि गर्मीयाम र हिउँदेयाम दुवै समयमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै झुलाघाट नाका खुला राख्ने गरिएको थियो ।
सीमा नाका खुला रहने समय बढाएपछि चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र विशेष परिस्थितिमा नागरिकको वैध तथा परम्परागत आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका भएकाले यसलाई व्यवस्थित बनाउन र सीमामा आवागमनलाई सहज बनाउन दुवै देशका अधिकारीहरुले मिलेर काम गर्ने सहमति समेत भएको बताइएको छ ।




