बैतडी –बैतडीमा सञ्चालनमा रहेको रुपान्तरण कार्यक्रमका सहजकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा भीएसओ र पीसवीनले सञ्चालन गरिरहेको रुपान्तरण कार्यक्रमका सहजकर्ताहरुका लागि पाटनमा तालिम सञ्चालन भइरहेको हो ।
८ दिने प्रशिक्षक प्रशिक्षण तालिममा बैतडीका सातओटा स्थानीय तहका किशोरकिशोरी सहजकर्ताहरुको सहभागिता रहेको छ । तालिममा रुपान्तरण कक्षामा सञ्चालन हुने बिषयवस्तुको बारेमा जानकारी दिने गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
बालविवाह न्यूनीकरणका लागि बैतडीमा सन् २०१६ देखि रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको छ । यो कार्यक्रम मार्फत समाजमा रहेका विकृति, विसंगति हटाउने प्रयास भइरहेको शाहीले बताए ।
रुपान्तरण कार्यक्रमले किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि र बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
रुपान्तरण सहजकर्ताहरुलाई तालिम दिइसकेपछि पालिकाहरुमा किशोरकिशोरी सहजकर्ताहरुले समूह गठन गरेर साप्ताहिक कक्षा सञ्चालन गर्ने पिसवीनका फिल्ड सुपरभाइजर कृष्ण भट्टले बताए ।
२५ जनाको समूहमा रुपान्तरण प्याकेजमा रहेका बिषयवस्तुका बारेमा छलफल हुने उनले बताए । रुपान्तरण कार्यक्रमले बालविवाह न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको किशोरकिशोरी सहजकर्ताहरुले बताएका छन् ।





