बैतडी- बैतडीको शिवनाथ गाउँपालिकामा गाउँपालिका स्तरीय शैक्षिक गुणस्तर सुधारका कठिनाइ र समाधानका विकल्पबारे बृहत् अन्तरक्रिया तथा परामर्श सभा आयोजना गरिने भएको छ ।
शिवनाथ गाउँपालिका र शिक्षा नीति तथा अभ्यास केन्द्र (सामुदायिक रुपान्तरणका लागि पैरवी समूह), काठमाडौँको समन्वयमा असोज १९ गते सोमबार एकदिने पालिकास्तरीय शैक्षिक गुणस्तर सुधार परामर्श सभा सञ्चालन हुन लागेको हो ।
उक्त परामर्श सभामा नेपालका प्रसिद्ध शिक्षाविद् डा. विद्यानाथ कोइराला र टिका अधिकारीसँग प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यद्वारा जारी सूचना अनुसार असोज १९ गते बिहान १०ः०० बजेदेखि शिवनाथ गाउँपालिकाको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विषयगत शाखा प्रमुख, शिक्षाप्रेमी बुद्धिजीवी तथा स्थानीय पत्रकारहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।




