Sagun Khabar
बैतडीमा दोहोरो मतदाता नामावली हटाइयो,असोज १८ गतेसम्म दाबी विरोध गर्न सकिने 

बैतडी, जिल्ला निर्वाचन कार्यालय बैतडीले जिल्लभित्र एकभन्दा बढी स्थानमा नाम दर्ता गराएका दोहोरो मतदाताहरूको नाम नामावलीबाट हटाएको छ । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार विवरणहरूको जाँचबुझ गर्दा एउटै व्यक्तिको नाम फरक फरक ठेगानामा भेटिएपछि निर्वाचन कार्यालयले मतदाताहरूको नाम नामावलीबाट हटाएको हो । 

छानबिनका क्रममा दोहोरो नाम पुष्टि भएका मतदाताको एक ठाउँको ठेगाना मात्रै कायम राखी बाँकी स्थानको नाम हटाइएको जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । यसरी नामावलीबाट नाम हटाइएका मतदाताहरूका लागि कार्यालयले दाबी विरोध वा सच्याउने अवसर समेत दिएको छ । 

यदि कसैको विवरण गल्तीले हटेको वा त्यसमा कुनै फरक परेको भए असोज १८ गतेभित्र आवश्यक प्रमाण खुल्ने कागजातसहित जिल्ला निर्वाचन कार्यालय बैतडीमा सम्पर्क गर्न सकिने सूचना अधिकारी नरेश दयालले बताउनुभयो । निर्वाचन प्रणालीलाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले मतदाता नामावली अद्यावधिक कार्यलाई निरन्तरता दिइएको निर्वाचन कार्यालयले जनाएको छ ।   

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update