Sagun Khabar
कोरोना जोखिम : सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह 

बैतडी –कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपाउन आग्रह गरेको छ । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको नेपालमा पनि नयाँ भेरिएन्टका बिरामी फेला परेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बैतडी पनि भारतसंग सीमा जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा रहेको जनाएको छ । जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुलाई सेनेटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । 

यस्तै भीडभाड हुने खालका कार्यक्रममा सके सम्म नजान आग्रह गरिएको छ । कोरोना संक्रमणदर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

झुलाघाट नाकाबाट अहिले बिसुका लागि घर फर्कनेको संख्या बढेकाले सीमामा उच्च सतर्कता अपनाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताए । झुलाघाट नाकाबाट स्वदेश फर्कनेको अनिवार्य कोरोना जाँच गरेर मात्रै आउन दिने गरिएको उनले बताए । यस्तै भारतबाट स्वदेश फर्कने नागरिकलाई अनिवार्य मास्क लगाउन भनिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

पछिल्लो एक हप्तामा मात्रै झुलाघाट नाकाबाट स्वदेश फर्केका ६ जना कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

Dao1680836285.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update