बैतडी–लगातारको वर्षासँगै बैतडीको झुलाघाटमा पहिरो खस्दा नेपाल–भारत सीमा नाका अवरुद्ध भएको छ । झुलाघाट जाने सडकमा लेदोसहितको ठूलो पहिरो खसेकाले बाटो अवरुद्ध भएको छ । महाकाली नदी धमिलो पानीसहित उर्लिएको छ ।
लगातारको बर्षाले झुलाघाट जिरोपोइन्ट नजिक पहिरो खसेको स्थानीय बासिन्दा जयसिंह भाटले बताए । पहिरोले बाटो बन्द भएपछि नेपाल र भारतबीचको आवगमन रोकिएकोे उनले बताउ । सीमा नदी महाकालीमा पानीको बहाव बढेको उनले बताए ।
नदीको सतह बढेर जोखिम निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गरी नदी तटीय क्षेत्रका बासिन्दा र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपील गरेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
पहिरोले सडक अबरुद्ध गरेपछि तत्काल सवारी साधन चलाउन नमिले पनि यात्री हिँड्न मिल्ने गरि बाटो खुलाउन सडक डिभिजन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।




