Sagun Khabar
बैतडीको सिगास र शिवनाथमा ‘हाकिम’ नहुँदा समस्या

 बैतडी–बैतडीको शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा हाकिम (प्रमुख प्रशासकीय अधिकृत) नहुँदा कार्यालयले सम्पादन गर्ने कामहरुमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलबदेखि विकास निर्माणका कामहरु रोकिएका छन् । 

शिवनाथ गाउँपालिकामा गएको मंसिर महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नदिँदा विकास निर्माणका कामहरु समेत रोकिएका उनले बताए । उनले भने ‘हाकिमको व्यवस्थापनका लागि मन्त्रालय सम्म पनि पुगियो । तर समस्या समाधान हुन सकेको छैन् ।’ 

चालु आर्थिक बर्षका तीन महिनामात्रै बाँकी रहँदा अधिकांश विकास निर्माणका कामहरु सुचारु गर्न बाँकी रहेको अध्यक्ष साउँदले बताए । योजनाको सम्झौतादेखि लिएर अन्य आर्थिक गतिविधिका लागि मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिएको छैन् भने प्रमुख प्रशासकीय अधिकृत पनि पठाएको छैन् ।

यस्तै सिगास गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण कामदेखि अन्य कामहरुमा बाधा पुगेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाको अनिवार्य अवकाश भएपछि नयाँ हाकिम पाइएको छैन् । 

पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा भानुभक्त भट्ट आउने तयारी भएको भएपनि वैशाखको पहिलो सातामात्रै पुग्ने बताइएको छ । समयमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा स्थानीय तहहरुले सम्पादन गर्ने कामहरु समयमा सम्पादन हुन सकेका छैनन् । 

प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकाहरुमा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, विकास निर्माणका कामहरु रोकिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update