Sagun Khabar
दशरथचन्द नगरपालिकाले बनायो ‘डोटेली’ भाषामा पाठ्यक्रम

 बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । कक्षा १ देखि ३ सम्म आधारभूत तहको पाठ्यक्रम तयार पारेको हो । स्थानीय भाषा अर्थात डोटेली भाषामा पाठ्यक्रम तयार पारिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले जानकारी दिए । 

देवनागरी लिपिमा डोटेली भाषामा आधारभूत तहको पाठ्यक्रम तयार पारिएको उनले बताए । पाठ्यक्रममा स्थानीय भाषा, भेषभुषा, कला संस्कृति, धार्मिक तथा पर्यटकीय क्षेत्रका बिषयमा समेटिएको उनले बताए । 

आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरेर पाठ्यक्रम तयार पारिएको हो । प्रथम नगर स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पाठ्यक्रम सार्वजनिक गरिएको छ । नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र संघीय सांसद दामोदर भण्डारीले संयुक्त रुपमा पाठ्यक्रम सार्वजनिक गरेका हुन् । 

स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निर्माण गर्न सक्ने भएकाले पाठ्यक्रम तयार पारिएको हो । बैतडीमा पहिलो पटक स्थानीय भाषामा पाठ्यक्रम तयार पारिएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख भट्टले बताए । उनले भने ‘हामीले शिक्षा क्षेत्रका व्यक्तित्वहरुको सुझावका आधारमा स्थानीय भाषामै स्थानीय पाठ्यक्रम तयार पारेका हौं । यो पाठ्यक्रममा स्थानीय परिवेशका कुरा समेटेका छौं ।’

डोटेली भाषामा पाठ्यक्रम तयार पारिएकाले कार्यान्वयनमा भने चुनौती रहेको छ । बोलीचालीमा डोटेली भाषा सजिलो भएपनि लेख्नमा भने भाषा त्यति सहज नरहेको शिक्षा शाखा प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update