बैतडी –बैतडीमा गड्यौला मल उत्पादन शुरु गरिएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझले गड्यौला मल उत्पादन शुरु गरेको हो । फलफूलका बिरुवामा प्रयोग गर्ने उद्देश्यका साथ गड्यौला मल उत्पादन शुरु गरिएको केन्द्रका प्रमुख डम्मरसिंह भाटले बताए ।
सुख्खा फलफूल विकास केन्द्र सतबाँझको एरीयभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको भाटले बताए । गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको भाटले बताए । उनले भने ‘हामीले फार्मभित्रै गड्यौला मल उत्पादन गरिरहेका छौं । यो बोटबिरुवाका लागि निकै फाइदाजनक छ ।’
गड्यौला मल जैविक मल भएका बोटबिरुवा तथा बारीका लागि निकै लाभदायक हुने गरेको केन्द्रका प्रमुख भाटले बताए । गड्यौला मल उत्पादनस्थलमा गड्यौला पालन गर्ने र उनीहरुले झारपात खाएर मल उत्पादन गर्ने गरेको भाटले बताए ।
सुख्खा फलफूल विकास केन्द्रमा नमूनाको रुपमा गड्यौला मल उत्पादन शुरु गरिएको र परीक्षण सफल भएको बताइएको छ । गड्यौला मल उत्पादनस्थलबाट अहिले सम्म ११ क्विन्टल जैविक मल उत्पादन भइसकेको भाटले बताए । यो आर्थिक बर्षभित्र २० क्विन्टल मल उत्पादन गर्ने लक्ष्य रहेको छ ।
सुख्खा फलफूल विकास केन्द्रले बैतडीका किसानहरुलाई गड्यौला मल उत्पादनको तरीका सिकाउने उद्देश्यसहित गड्यौला मल उत्पादन गर्न थालेको जनाएको छ । विभिन्न ठाउँका किसानहरुलाई जैविक मल उत्पादनका बिषयमा जानकारी दिने गरिएको सुख्खा फलफूल विकास केन्द्रले जनाएको छ ।
चिसो ठाउँमा जैविक मल उत्पादन त्यति सहज नभएपनि बैतडीमा यो सम्भव भएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख भाटले बताए । उनले भने ‘चिसो ठाउँमा गड्यौला मल उत्पादन गर्न त्यति सहज छैन् । हामीले टनेलभित्र गड्यौला राखेर मल उत्पादन गरिरहेका छौं ।’
अन्य मलको तुलनामा जैविक मल निकै मलिलो र लाभदायक हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् । तराईतिर प्रतिकेजी ३० रुपैंयाका दरले गड्यौला मल अर्थात जैविक मल विक्रि हुने गरेको बताइएको छ । कौसी खेती गर्नेहरुका लागि यो मल निकै उपयोगी हुने भाटले बताए । गड्यौला मल मलिलो हुने भएकाले तरकारी खेतीका लागि समेत यो उपयोगी हुन्छ । थोरै मात्रा भएपनि यसले बोट विरुवा हुर्काउन धेरै सहयोग पुर्याउने गरेको भाटले बताए ।





