Sagun Khabar
बैतडीमा ‘लम्पी स्कीन’रोगले पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित 

बैतडी –बैतडीमा लम्पी स्कीन रोगका कारण पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाभरी लम्पी स्कीन भाइरल रोगका कारण पशु चौपाया मर्न थालेका किसानहरुले बताएका छन् । लम्पी स्कीन रोगका कारण किसानहरुले पालेका घरपालुवा पशुचौपाया मर्न थालेका सुर्नयाका स्थानीय जयन्तप्रसाद भट्टले बताए । 

जिल्लाका सबै जसो पालिकामा लम्पी स्कीन रोगको प्रकोप फैलिएको किसानहरुले बताएका छन् । लम्पी स्कीन रोगका कारण घर पालुवा पशुचौपायामा क्षति पुग्न थालेको किसानहरुको भनाइ छ । 

जिल्लाभरी लम्पी स्कीन रोगको प्रकोप देखिएपनि यो भाइरल रोग भएकाले यसको उपचार गर्न नसकिने भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । यो रोगका कारण पशु चौपायाहरुमा देखिने जटीलता कम गर्न सकिने भएपनि रोग निको हुने औषधि नभएको उनले बताए । उनले भने ‘पशुचौपायामा देखिने लम्पी स्कीन रोग भाइरल रोग हो । यसको औषधि बनेको छैन् । यसका कारण हुने जटीलता रोक्न मात्रै सकिन्छ ।’

लम्पी स्कीन रोग देखिएका पशुहरुमा र्याल काढ्ने, शरीरमा गीर्खा आउने, खुर पाक्ने लगायतका लक्षणहरु देखा पर्ने गर्दछन् । यो रोगको संक्रमण बढ्दै गएपछि पशुहरु मर्ने सम्भावना समेत रहेको पन्तले बताए । लम्पी स्कीन रोगका कारण पशु चौपाया मर्ने दर कम भएपनि रोग जटील बन्दै गएपछि पशुहरु मर्न सक्ने उनले बताए । 

यस्तै ब्याउने गाईभैंसीमा यो रोगले समस्या निम्त्याउन सक्छ भने दुधालु गाईभैंसीहरुमा पनि समेत निम्त्याउने पशु प्राविधिकहरुले बताएका छन् । 

जिल्लाका विभिन्न स्थानीय तहमा पशु चौपायाहरुमा लम्पी स्कीन रोगको संक्रमण फैलिएपछि केही तहहरुले औषधि उपचारको व्यवस्था गरेको जनाएका छन् । पाटन नगरपालिकाले विभिन्न वडामा पुगेर लम्पी स्कीन रोगका पशुचौपायामा क्षति पुग्न थालेपछि प्राविधिक सहित गाउँगाउँमा औषधि दिने गरेको जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update