Sagun Khabar
झुलाघाट नाकाबाट फर्केका सात जनामा कोरोना पुष्टि 

बैतडी –पछिल्लो समयमा बैतडीमा पनि कोरोना संक्रमित फेला पर्न थालेका छन् । भारतसंग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्किरहेकाहरुमा कोरोना देखिन थालेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

सीमा नाका झुलाघाटमा गरिएको परीक्षणमा एकसातामा सात जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी लेखकले बताए । भारतबाट फर्कने सबैको कोरोना परीक्षण गर्ने गरिएको र उनीहरुमध्ये पछिल्लो एकहप्तामा सात जनामा कोरोना पुष्टि भएको लेखकले बताए । 

कोरोना पुष्टि हुनेमा बैतडीका मात्रै नभएर अन्य जिल्लाका नागरिक समेत रहेका उनले बताए । झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको अनिवार्य कोरोना जाँच गर्नुका साथै मास्क समेत अनिवार्य गरिएको छ । 

कोरोना पुष्टि भएकाहरुलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना संक्रमणको जोमिख बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update