Sagun Khabar
बैतडीमा ३१ हजार ६ सय बढी परिवार स्वास्थ्य बीमामा आवद्ध 

बैतडी –बैतडीमा ३१ हजार ६ सय ६२ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बैतडीमा २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएयता ३१ हजार ६ सय ६२ परिवार यो कार्यक्रममा आवद्ध भएका स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालले जानकारी दिए । 

स्वास्थ्य बीमामा आवद्ध भएका परिवार मध्ये ३ हजार ९० परिवारले मात्रै शुल्क तिरेर कार्यक्रम आवद्ध भएका छन् भने अन्य परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको छ । जिल्लामा रहेका १ हजार ६८५ महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य बीमा बाफतको प्रिमियम ५० प्रतिशत संघीय सरकार र ५० प्रतिशत सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिर्ने भएकाले उनीहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको छ । 

यस्तै सरकारको निती अनुसार २५ हजार ४५८ जेष्ठ नागरिक, २ सय ७६ एच आइभी संक्रमित, ५३ जना कुष्ठरोगी, ९८३ अपांगता भएका व्यक्ति र ११७ जना एमबीआर टीबी भएका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको कार्यालय प्रमुख बडालले बताए । 

स्वास्थ्य बीमामा आवद्ध हुन चाहने नागरिकले ५ जना सम्मको परिवार सदस्यका लागि बार्षिका ३ हजार ५ सय प्रिमियत तिर्नुपर्ने र त्यो बाफत एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरुले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेको बडालले बताए । 

बैतडीमा पछिल्लो समयमा स्वास्थ्य बीमामा आवद्ध हुने नागरिकको संख्या बढेपनि अझै अपेक्षाकृत रुपमा बढ्न सकेको छैन् । स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीको हकमा जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य मेलौली सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका छन् । यी संस्थाहरुमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरुमा पनि निशुल्क उपचार हुने गरेको कार्यालय प्रमुख बडालले बताए । 

बैतडीमा अहिले सम्म स्वास्थ्य बीमा माफत १ करोड ९६ लाख ६४ हजार १६३ प्रिमियम रकम संकलन भएको बडालले बताए । 

Bima diwas 11680943123.jpg

यसैबीच बैतडीमा पनि सातौं स्वास्थ्य बीमा दिवस मनाइएको छ । ‘तपाँईको स्वास्थ्य हाम्रो अठोट’भन्ने नाराका साथ दिवस मनाइएको हो । स्वास्थ्य बीमा बोर्ड बैतडीका दर्ता अधिकारी दीपकबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अस्पताल बैतडीका प्रमुख डा.दिपेश श्रेष्ठ प्रमुख अतिथी रहेका थिए । 

स्वास्थ्य बीमाको महत्व बुझाउने उद्देश्यसहित दिवस मनाइएको दर्ता अधिकारी धामीले बताए । स्वास्थ्य बीमाले विपन्न नागरिकको उपचार सेवामा पहुँच पुगेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update