Sagun Khabar
बैतडीमा कांग्रेसको संगठन सुदृढीकरण अभियान शुरु 

बैतडी –नेपाली कांग्रेस बैतडीले संगठन सुदृढीकरण अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकार्य समितिको कार्यक्रम अनुसार संगठन सुदृढीकरण अभियान शुरु गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले जानकारी दिए । 

जिल्लाका १० ओटै स्थानीय तहमा संगठन सुदृढीकरण अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरिने उनले बताए । अभियान अन्तर्गत पार्टीको आन्तरिक जीवनलाई सुदृढ बनाउने,पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका पदाधिकारीबीच छलफल र पालिकाहरुमा सञ्चालन भइरहेका विकास निर्माणका कामका बिषयमा छलफल हुने गरेको उपसभापति बिष्टले बताए । 

शनिबार अभियान अन्तर्गत सुर्नया गाउँपालिका ५ मा छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको छ । सो अभियानमा पार्टीका सुदूरपश्चिम प्रदेश समिति सदस्य जनकबहादुर बिष्ट, पार्टीका उपसभापति खगेन्द्रसिंह धामी, बैतडी प्रदेश सभा क्षेत्र न १ का सभापति विष्णुदत्त भट्ट, सुर्नयाका ८ ओटै वडाका कांग्रेसका पदाधिकारी र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

अहिले प्रदेश सभा क्षेत्र नं १ का अभियान सञ्चालन भइरहेको र त्यसपछि प्रदेशसभा क्षेत्र नं २ मा अभियान सञ्चालन हुने उपसभापति बिष्टले बताए । प्रदेश सभा क्षेत्र नं १ मा अभियान सञ्चालनका लागि प्रदेश कार्यसमितिले सुदूरपश्चिम प्रदेश समिति सदस्य जनकबहादुर बिष्टलाई प्रतिनिधि खटाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update