Sagun Khabar
महाकालीमा तटबन्ध  निर्माण रोकिएन,बलमिच्याँइ विरुद्ध चुँ बोल्दैन सरकार 

बैतडी- दार्चुलाको सदरमुकाम खलंगाको सीमाक्षेत्रमा भारत पक्षले तटबन्ध  निर्माणको काम जारी राखेको छ । नेपालको सहमती बिना भारतीय पक्षले महाकाली मिचेर तटबन्ध  निर्माण गर्ने  कार्य जारी राखेको  हो । सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमती र समन्वय हुनुपर्ने व्यवस्था छ ।

सीमामा कुनै पनि गतिविधि गर्न दुवै देशको सहमती आवश्यक भएपनि  भारतले एकलौटी धमाधम तटबन्ध निर्माण गरिरहेको हो । महाकाली नगरपालिका ४ स्थित पुलघाट क्षेत्रको पारी धार्चुलामा रहेको स्टेडियम छेउदेखि घट्टे खोला सम्म महाकाली नदि किनारमा २०७८ माघ पहिलो साताबाट भारतले करिब १ किलोमिटर लम्बाई  ९ मिटर उचाई तथा १० मिटर चौडाईको पक्की तटबन्ध सुरु गरेको थियो ।भारतले महाकाली नदी धार नेपालतर्फ फर्काउने गरेर  तटबन्ध  निर्माण गरि रहेको थियो । सो बेला खलंगाबासीहरुले विरोध गरेका थिए ।

भारतको ज्याजती देखेर नेपालीहरुले विरोध गरेपछि  तटबन्ध  अलि पर सारेको थियो । महाकाली मिचेर तटबन्ध निर्माण गरेपछि नेपाली पक्ष विरोधमा उत्रिएका थिए । भारतले बलमिच्याँई ढंगबाट तटबन्ध निर्माणको थालनी  गरेपछि यहाँका जनताले स्थानीय प्रशासन देखि केन्द्र सरकारको समेत ध्यानाकर्षण गराएका थिए । तटबन्ध निर्माण सुरु गरेपछि स्थानीय प्रशासनले माघ २० गते दुवै देशका स्थानीय अधिकारी र सुरक्षाकर्मी विच चलेको काउन्टरपार्ट मिटिङमा यो विषय उठेको थियो ।

त्यो बेला भारतको पिथौरागढ जिल्ला प्रशासनका अधिकारीहरुको छलफलमा  तटबन्ध निर्माण गर्दा नदीको वहाव परिवर्तन नहुने तथा नेपालमा कुनै असर नपर्ने गरि निर्माण गर्ने प्रतिबद्धता गरेको थियो । तर प्रतिबद्धता तोडेर फेरि भारतले धार्चुला पुलघाटको उत्तरमा महाकाली नदीको पानी नेपाल तर्फ फर्किने गरेर तटबन्ध  बनाउन थाल्यो । त्यो बेला स्थानीय प्रशासनले पत्राचार गरेर केही भाग भत्किाइयो तर पुरै बनेको संरचना नहटाउँदा लास्कु खोलामा आएको बाढी महाकालीमा मिसिदा गत भदौ  २४ गते नेपाल तर्फ क्षति भयो ।

भारतलाई तटबन्ध निर्माणका विषयमा प्रशासनले पत्राचार गर्दै आएको भएपनि काम नरोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका खरिदार सागर जोशीले बताए । नेपाललाई असर पर्ने गरेर भारत पक्षले गरिरहेको कामको गृहमन्त्रालयमा समेत धेरै पटक पत्र पठाइ सकिएको दार्चुला प्रशासनले जनाएको छ । तर अहिले पनि भारतले काम भने रोकेको छैन । अहिले  पनि महाकाली नदीमा डोजर चलेका छन् ।

भारतले   महाकाली नदीमा डोजर चलाएर ढुंगा बालुवा उखेल्दै छ । अहिलेपनि भारत पक्षले काम नरोकेको सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले बताए । हामी स्थलगत रूपमा दार्चुला पुगेर रिपोर्टिङ गर्दा भारतले नेपाललाई असर पर्ने गरि गरिरहेको कार्यले मन दुख्ने गरेको एक सुरक्षाकर्मीले गुनासो गरे । राति समेत भारत पक्षले  काम गरिहेको उनीहरुको भनाई छ ।

महाकाली  मिचेर तटबन्ध गरिरहँदा पनि सरकार कडा रुपले प्रस्तुत नभएको खलंगावासि नागरिकहरूको गुनासो छ ।‘कुर्सिका लागि मरिहत्य गर्छन नेताहरु ,सीमाको चिन्ता छैन्,भारतको यो दादागिरीको  कडा जवाफ दिने सपूत कहिले  जन्मिएला नेपालमा,’ यहाँका नागकिहरुले भने ।  दार्चुलाको सदरमुकाम खलंगाको सीमाक्षेत्रमा महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालय सहित एक सय ५६ घर बगाएको थियो ।

 भारतकै धौँलीगंगा बाँधका कारण ९ वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी अहिले  महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन् । भारतले तटबन्ध निर्माणको कामलाई नरोकेपछि दार्चुलाका स्थानीयबासी बेलाबेला प्रतिरोध र विरोध जनाउँदै आएका छन् । महाकाली उत्खन्न गरेर एकतर्फि निर्माण भइरहेको तटबन्धले नदीको धार नेपालतिर फर्किने डर छ । 

महाकालीको धार नेपालतिर फर्किँदा दार्चुला सदरमुकाम नै जोखिममा पर्ने स्थिति आउने भन्दै स्थानीय नागरिकहरू तर्सित भएका हुन् । नेपाल सरकारले भने सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाउँदै आएको छ । कूटनीतिक पहल गर्ने जनाउँदै आएको सरकार अहिले पनि चुँ बोलिरहेको छैन् । भारतको बलमिच्याँइ विरुद्ध सरकारले नतिजामुखि कदम नचाल्दा नागरिकहरू समस्या खेप्दै आएका छन् ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update