बैतडी–बैतडीको डिलाशैनी स्वास्थ्यचौकीमा सञ्चालन भएको गाउँघरमा चिकित्सक कार्यक्रम अन्तर्गत ५८६ जनाले सेवा लिएका छन् । यही चैत २४ र २५ गते सञ्चालन भएका शिविरबाट स्थानीय नागरिकले सेवा लिएका हुन् ।
जिल्ला अस्पताल बैतडीले आयोजना गरेको शिविरमा हाडजोर्नी, बालरोग सेवा , समान्य चिकित्सा, दन्त रोग सेवा प्रदान गरिएको अस्पताल व्यवस्थापन अधिकृत सुमन महराले बताए ।
यस्तै शिविरमा भिडियो एक्सरे र इसीजी सेवा समेत प्रदान गरिएको उनले बताए । दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै पुगेर बिशेषज्ञ सेवा दिने उद्देश्यले गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिएको महराले बताए ।
डिलाशैनी गाउँपालिकाको केन्द्रस्थित धामीगाउँमा सञ्चालन भएको शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका महराले बताए । उनले भने ‘दुर्गमका नागरिकलाई सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेका हौं । शिविरबाट नागरिकले सेवा पाएका छन् ।’
विभिन्न कारणले चिकित्सकको सेवा पाउनबाट वञ्चित भएका नागरिक शिविरबाट लाभान्वित भएका जिल्ला अस्पतालले जनाएको छ ।
यसअघि जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित कुलाउ स्वास्थ्यचौकी र सिगास गाउँपालिकास्थित गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको थियो ।





