Sagun Khabar
नेपाली कांग्रेस बैतडीको जिल्ला सम्मेलन सम्पन्न 

बैतडी –नेपाली कांग्रेस बैतडीको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला पार्टी सभापति चतुरबहादुर चन्दको अध्यक्षता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडको प्रमुख आतिथ्यतामा पाटनमा सम्मेलन सम्पन्न भएको हो । 

सम्मेलनमा नेपाली कांग्रेसको वडा, पालिका र क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावका बिषयमा प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । 

सम्मेलनमा पार्टीको संगठन विस्तार, तल्लो तहसम्म पार्टीको वैचारिक बहस, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्ने लगायतका बिषयमा छलफल भएको उपसभापति बिष्टले बताए । 

सम्मेलनले नेपाली कांग्रेसको संगठन विस्तारलाई सहयोग गर्ने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । नेपाली कांग्रेसको विधान अनुसार बर्षमा एक पटक जिल्ला सम्मेलन गर्नुपर्ने भएकाले सोही अनुसार सम्मेलनको आयोजना गरिएको उनले बताए । सम्मेलनमा पार्टी सुदृढीकरणका लागि अपनाउनुपर्ने बिषयमा छलफल र अन्तरक्रिया गरिएको सचिव चन्दले बताए । 

यस्तै वडा–वडामा पार्टीको क्रियाशील सदस्यहरुलाई थप सक्रिय बनाउनका लागि अपनाउनुपर्ने रणनीतिका बिषयमा पनि सम्मेलनमा छलफल भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

सम्मेलनमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, नेपाली कांग्रेस बैतडीका पूर्व सभापति एवं प्रदेश सभा क्षेत्र नं.२ का प्रदेश सभा सदस्य शिवराज भट्ट, जिल्ला प्रतिनिधि, पार्टीका पालिका प्रतिनिधि, क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने बताए । एकढिक्काका साथ नेपाली कांग्रेसको संगठन विस्तार अभियानमा लाग्न समेत उनले नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । 

वडा, पालिका र क्षेत्रीय सम्मेलन सम्पन्न गरेपछि नेपाली कांग्रेसले आइतबार जिल्ला सम्मेलन सम्पन्न गरेको हो । 
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update