Sagun Khabar
ट्यांकरको पानीले पञ्चेश्वर स्वास्थ्यचौकीमा प्रसूती सेवा सुचारु 

बैतडी –बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा ट्यांकरबाट पानी ढुवानी गरेर अवरुद्ध भएको प्रसूती सेवा सुचारु गरिएको छ । 
मेलौली नगरपालिका अन्तर्गत पर्ने स्याडी खोलाबाट ट्यांकरमा पानी लगेर शनिबार साँझदेखि प्रसूती सेवा सुचारु गरिएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । प्रसूती सेवा सुचारु भएकै दिन स्वास्थ्यचौकीमा एकजना गर्भवतीले शिशु जन्माएको स्वास्थ्यचौकी इञ्चार्ज सार्कीले बताए । 

स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन । स्वासथ्यचौकीलाई पानी नदिएपछि जेठ २८ गतेदेखि प्रसूती सेवा बन्द गरिएको थियो । स्वास्थ्यचौकीका लागि भरेर राखेको पानी सकिएपछि प्रसूती सेवा बन्द हुन पुगेको थियो । 

पानीको अभावमा प्रसुती सेवा बन्द भएपछि झण्डै ४६ किलोमिटर टाढाबाट २५ हजार बढी रुपैंया तिरेर पानी ढुवानी गरी प्रसूती सेवा सञ्चालनमा ल्याइएको छ । 

स्वास्थ्यचौकीको आँगनबाटै बस्ती र मन्दिरका लागि पानी गएको भएपनि स्वास्थ्यचौकीमा पानी दिन स्थानीयहरुले आनाकानी गरेका छन् । प्रसूती भएका महिलाले स्वास्थ्यचौकी छोएमा पानी सुक्छ भन्ने अन्धविश्वासका कारण स्वासथ्यचौकीले पानी पाउन नसकेको हो । 

पानी अभावकै कारण प्रसूती सेवा जस्तो सम्वेदनशील सेवा अवरुद्ध गर्नुपर्ने अवस्था आउने गरेको स्वास्थ्यचौकीका इन्चार्ज सार्कीले बताए । अहिले पनि ट्यांकरमा भरेको पानीले प्रसूती सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले पानीको प्रबन्ध नहुँदा समस्या आइरहने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update