Sagun Khabar
सुदूरका बस्तीहरुमा ऐतिहासिक खेल र देउडाको रौनक 

बैतडी –सुदूरपश्चिमका गाउँबस्तीमा अचेल ऐतिहासिक खेल र देउडा रौनक चलेको छ । गौरा मनाएका बस्तीहरुमा ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत र देउडाको रौनक छाएको दशरथचन्द नगरपालिका १ गुरुखोलाका गंगादत्त भट्टले बताए । 

गौराको मुख्यदिन गौराष्टमीपछि ठाउँ परिवेश अनुसार विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी र चैतहरुले खेल्न गरिएको दशरथचन्द नगरपालिका ६ का जयराज भट्टले बताए । यो समयमा देउडा समेत खेल्ने गरिएको उनले बताए । उनले भने ‘अहिले गाउँघरमा निकै रमाइलो वातावरण छ । परदेशीहरुमा पनि घरमा आएका छन् । यताउता भएकाहरु पनि घरमा आएका छन् । गाउँबस्तीहरु गुञ्जायमान छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

विभिन्न राजारजौटा र देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र चैतहरु गौराको समयमा गाउने र खेल्ने गरिएको छ । यस्तै देउडाका माध्यमबाट सुखदुख साट्ने परम्परा रही आएको छ । 

ठाडो खेल, ढुस्को, धमारी र चैतहरुमा देवीदेवताहरुको उत्पत्ति, रामायण, महाभारतका कथाहरु भन्ने गरिएको भट्टले बताए । उनले भने ‘गौराका समयमा खेलिने खेलहरु हाम्रा संस्कृति हुन् । यस्ता खेलहरुमा इतिहास समेटिएको हुन्छ ।’

यस्तै गौराको समयमा खेलिने देउडामा सुखदुख र मायाजालका शब्दहरु समेट्ने गरेको पाइन्छ । डोटेली लोकसाहित्यको प्रमुख विधाको रुपमा रहेको देउडाका माध्यमबाट रमाइलो गर्ने गरिएको सुर्नया ४ की सरिता महराले बताइन् । गौराको समयमा गाउँका सबैजना एकैठाउँमा जमा भएर देउडा खेल्ने गरिएको उनले बताइन् । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । 

देउडा विभिन्न समयमा खेल्ने गरिएको भएपनि ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका विधाहरु भने गौराको समयमा मात्रै खेल्ने गरिएको छ । देवीदेवताहरुको देउखलामा बाजागाजासहित पुगेर पूजाअर्चनासहित ऐतिहासिक खेलहरु खेल्ने गरिएको दशरथचन्द नगरपालिका १ का कविराज भट्टले बताए । 

गौराको समयमा गाइने देउडा खेलमा पनि देवीदेवताको गाथा सुनाइने गरिन्छ । समय परिवेश अनुसार देउडा सबै प्रकारका शब्द बुन्ने गरिएको भएपनि गौराको समयमा देवीदेवताकै गाथामा आधारित शब्द बढी प्रयोग हुने गरेको महराले बताइन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update