Sagun Khabar
बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राखियो, देवीका मन्दिरमा भक्तजनको भीड 

बैतडी – आजदेखि दशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखेर घटस्थपाना गरिएको छ । बैतडीमा शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक जमरा राख्ने प्रचलन रही आएको छ ।

घरघरबाट जौं लगेर मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका सचिव कृष्णप्रकाश बोहराले बताए । गाउँका सबै मानिसहरुको घरबाट जौं ल्याएर मन्दिरमा जमरा राखिएको बोहराले बताए । उनले भने ‘दशैंको बेला हाम्रो यतातिर घरघरमा जमरा राख्ने चलन छैन् । मन्दिरमै सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । दशैंको दिन सबैले मन्दिरबाटै जमरा लगेर लगाउने गरेका छन् ।’

जिल्लाका सबैजसो मन्दिर तथा शक्तिपीठहरुमा सामूहिक रुपमा जमरा राख्ने चलन रही आएको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठहरुमा आज सामूहिक रुपमा जमरा राखिएको जनाइएको । जिल्लाका पुर्चौंडी नगरपालिका ८ मल्लादेहीस्थित डिलाशैनी भगवती मन्दिरमा सामूहिक जमरा राखिएको मन्दिरका पूजारी हरिशचन्द्र भट्टले बताए । उनले भने ‘नवरात्रको पहिलो दिन मन्दिरमा जमरा राखिएको छ । आज राखिएको जमरालाई दशैंका दिनका देवीको प्रसादको रुपमा लगाउने चलन रही आएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाका प्रसिद्ध त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी लगायतका शक्तिपीठहरुमा सामूहिक जमरा राखिएको छ । यस्तै सिगास, केदार,शिवनाथ, बासुलिङ्ग, दोगडाकेदार, महारुद्र, उदयदेव, अनिरुद्र, भूमिराज लगायतका मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । मन्दिरहरुमा जमरा राखेपछि नवरात्र पनि शुरु भएको छ । मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन समेत रही आएको अनिरुद्र मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए । 

शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरहरुमा देउरो लग्ने चलन रही आएको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भण्डार घरबाट भगवतीको सवारी गराएपछि सामूहिक जमरा राखिएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए । उनले भने ‘घटस्थापनाका दिन निङ्गलाशैनी भगवतीको मन्दिरबाट देउरो ल्याउने प्रचलन रही आएको छ । मन्दिरमा देउरो ल्याइसकेपछि सामूहिक जमरा राख्ने गरेका छौं ।’

सामूहिक रुपमा जमरा राख्ने प्रचलनले सामाजिक सदभाव पनि कायम हुने स्थानीय संस्कृतिका आचार्य घनश्याम लेखकले बताए । दशैंको समयमा सामूहिक रुपमा शक्तिको पूजा गर्ने प्रचलन रहेको र सोही अनुसार सामूहिक पूजाआजा गर्ने गरिएको उनले बताए । उनले भने ‘सामूहिक रुपमा जमरा राख्ने चलन पहिलादेखिको हो । यो प्रचलनले सामाजिक सदभावलाई बढाएको छ ।सबैलाई एकैठाउँमा भेटघाट हुने वातावरण समेत सिर्जना गरेको छ ।’

शक्तिपीठ तथा मन्दिरहरुमा जमरा राखिएसंगै नित्य पूजा आराधना गर्ने गरिएको छ । सप्तशती चण्डी लगायतका पाठहरु पढ्ने र माता दुर्गाको आराधना गर्ने प्रचलन रहेको अनिरुद्र मन्दिरका अर्का पूजारी विनोदप्रसाद अवस्थीले बताए । 

नवरात्र शुरु भएसंगै देवीदेवताका मन्दिरहरुमा भक्तजनहरुको घुइचो बढेको छ । दशैंको बेला बसाइसराई गरेर गएकाहरु पनि गाउँ फर्कने भएकाले मन्दिरहरुमा घुइचो लागेको हो । जिल्लामा रहेका देवीका मन्दिरहरुमा घटस्थापनाकै दिनदेखि भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । 

बैतडीमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा दशैंको बेला सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि पुग्ने गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update