Sagun Khabar
बैतडीमा छोप्ने रोग अर्थात मास हिस्टेरियाविरुद्ध अभियान सञ्चालन 

बैतडी –बैतडीमा छोप्ने रोग अर्थात मास हिस्टेरियाविरुद्ध अभियान सञ्चालन भएको छ । 

नेपाल मेड जर्मन संस्थाले किशोरावस्थाका विद्यार्थीहरुलाई सिर्जनात्मक लेखन सीप दिएर छोप्ने रोगविरुद्धको अभियान सञ्चालन गरेको हो ।

अभियानको पहिलो चरणमा कृष्ण मावि पाटनमा कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीहरुका लागि सिर्जनात्मक कथा लेखन सीप तालिम सञ्चालन गरिएको नेपाल मेड जर्मन संस्थाका प्रतिनिधि महेन्द्रप्रसाद जोशीले बताए ।  

आजदेखि सञ्चालन भएको सिर्जनात्मक कथा लेखन तालिममा २५ जनालाई नेपाली माध्यम र २५ जनालाई अंग्रेजी माध्यममा कथा लेख्ने सीप सिकाइने जोशीले बताए । 

किशोरावस्थाका मानिसहरुले मनमा खुल्दुली भएका कुराहरु,सिर्जनाहरु बाहिर प्रस्फुटन गर्न नपाउँदा मास हिस्टेरिया हुने गरेको अध्ययनले देखाएको छ । यस्तो समस्याबाट बच्नका लागि किशोरकिशोरीहरुलाई सिर्जनात्मक कथा लेखन सीप दिन थालिएको जोशीले बताए । 

चारदिनसम्म सञ्चालन हुने तालिममा परामर्शदाता आर्यन जोशी, बरिष्ठ बाल साहित्यकार विजयराज आचार्य र लेखक तथा अध्येता महेन्द्रप्रसाद जोशीले प्रशिक्षण दिइरहेका छन् । 

किशोरकिशोरीहरुमा सिर्जनात्मक कथा लेखनको माध्यमबाट मास हिस्टेरियाबाट बचाउने आफूहरुको उद्देश्य रहेको जोशीले बताए । यो अभियानमा नेपाल मेड जर्मन संस्थासँगै वियोण्ड स्टोरीजको पनि सहकार्य रहेको छ । 
नेपाल मेड जर्मन संस्थाले लामो समयदेखि सामाजिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेको छ । बैतडीको पाटन नगरपालिकाका विभिन्न स्थानमा संस्थाले गत बर्ष स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

स्थानीय सरकारसँग मिलेर किशोरकिशोरीहरुमा देखिने मास हिस्टेरिया समस्या समाधानका लागि आफूहरुले अभियान सञ्चालन गरेको जोशीले बताए । उनले भने, ‘सिर्जनात्मक कथा लेखन सीपले किशोरकिशोरीहरुमा देखिने मास हिस्टेरिया कम हुने हाम्रो अपेक्षा छ । किशोरकिशोरीका मनमा लागेका कुराहरु सिर्जनात्मक स्टोरीबाट बाहिर आएमा उनीहरुमा यो समस्या कम हुने अनुसन्धानले पनि देखाएको छ । त्यसैले हामीले विद्यार्थीहरुका लागि यो अभियान सञ्चालन गरेका हौं ।’ 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update