बैतडी–बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
जिल्लाको पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ बर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनि हिँडेका बिष्ट आज बिहान मृत फेला परेका प्रहरी निरीक्षक बडूले बताए ।
बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले बिष्टको खोजीका लागि इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेको थियो । सोही अनुसार खोजी गर्दै जाँदा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोडबाट करीब एक सय मिटर तल बिष्टको शव फेला परेको हो ।
बिष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





