बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)लाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएकी छन् ।
नगरपालिकाको प्रशासनमार्फत आफूले विभिन्न बिषयमा नगर प्रमुख ध्यानाकर्षण गराउँदै पत्र बुझाएको उनले बताइन् ।
नगर प्रमुख जोशीलाई उपप्रमुख चन्दले बुझाएको ध्यानाकर्षण पत्रमा प्रत्येक महिना बस्नुपर्ने नगर कार्यपालिकाको बैठक असारदेखि नबसेको कुरा उल्लेख गरिएको छ । यथाशीघ्र नगरकार्यपालिकाको बैठक बसी आफूले उठाएका बिषयवस्तुमाथि छलफल र कार्यान्वयन हुनुपर्ने उपप्रमुख चन्दले बताइन् ।
उपप्रमुख चन्दले बुझाएको ध्यानाकर्षण पत्रमा गत आर्थिक बर्षको सार्वजनिक सुनुवाई हुनुपर्ने, कार्यालयको मासिक खर्च विवरण सार्वजनिक गर्नुपर्ने, २०७९÷८० देखि अहिलेसम्मको शाखागत खर्च विवरण सार्वजनिक हुनुपर्ने, लेखापरीक्षण प्रतिवेदनमाथि छलफल हुनुपर्ने र आर्थिक बर्ष २०७९÷८० देखि सामान खरीद गरिएका बीलहरुमाथि छलफल हुनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै नगरपालिकामा लेखा समिति गठन गर्नुपर्ने, विपद् व्यवस्थापन र सडक सरसफाइमा ध्यान दिनुपर्ने, नागरिकले माग गरेका सूचना उपलब्ध गराउनुपर्ने र कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गनुपर्ने बिषयमा नगर प्रमुखको ध्यानाकर्षण गराएको उपप्रमुख चन्दले बताइन् ।







