Sagun Khabar
दार्चुला अस्पतालमा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा शुरु 

दार्चुला – जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा दिन थालेकी छिन् । 

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन् । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए । 

अहिलेसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा महिला, विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ भइरहेको थियो । स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको दार्चुलामा स्त्रीरोग विशेषज्ञ आउनु आफैँंमा गर्वको विषय भएको भट्टको भनाइ छ । 

जिल्ला अस्पतालका प्रमुख डा रवीन्द्र भट्टराईले स्त्रीरोग विशेषज्ञ ल्याउन निकै प्रयास गरेको बताए । अबदेखि महिलासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा आवश्यक शल्यक्रिया  जिल्लामै गर्न सकिने अस्पतालले जनाएको छ । पहाडी क्षेत्रका महिलामा देखिने पाठेघर खस्ने, मुखको क्यान्सर, मासु पलाउने लगायतका रोगको शल्यक्रिया जिल्ला अस्पतालमै गर्ने गरी तयारी भएको छ। स्त्रीरोग सेवा सञ्चालनका लागि अस्पतालले छुट्टै ओपिडी कक्ष र शल्यक्रिया कक्ष व्यवस्था गरेको छ। विगतमा बाहिरै जानुपर्ने अवस्था अब अन्त्य भएको डा भट्टराईले बताए । 

अस्पतालमा अहिले तीन विशेषज्ञसहित दश चिकित्सकले सेवा दिँदै आएका छन् । कुनै समय दुर्गम जिल्लाका अस्पतालमा चिकित्सक पाउनै मुस्किल थियो, तर समय बदलिँदै जाँदा अहिले दुर्गम क्षेत्रमै चिकित्सक सेवा दिन आउने क्रम बढेको छ । अस्पतालमा शल्य–चिकित्सा (अर्थोपेडिक) विशेषज्ञ, दन्त चिकित्सकसहित पाँच पाँच मेडिकल अधिकृत पनि कार्यरत छन् । 

अस्पतालमा भौतिक पूर्वाधारको अभाव भए पनि हालको संरचनालाई व्यवस्थित गरेर सेवा प्रदान गर्ने काम भइरहेको डा भट्टराईले बताए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update