बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आइतबारको अध्यक्षस्तरीय निर्णयले कार्तिक ११ र १२ तथा कार्तिक १८ र १९ गते सार्वजनिक बिदा दिइएको हो ।
कार्तिक ११ र १२ गते प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । जात्रामा स्थानीयहरुको उल्लासमय सहभागिता दृष्टिगत गरेर स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
यस्तै कार्तिक १८ र १९ गते देहीगडा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिका अध्यक्ष साउँदले बताए ।
स्थानीय सार्वजनिक बिदाको दिन गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय,शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था बन्द रहने बताइएको छ ।
शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गर्दछन् । शिवनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गरेको छ ।






