Sagun Khabar
बैतडीमा लाखौं रुपैयाँको ‘स्थानीय जातको’ प्याजको बेर्ना उत्पादन 

बैतडी –बैतडीमा लाखौं रुपैंयाको प्याजको बेर्ना उत्पादन भएको छ । जिल्लामा ‘बैतडी स्थानीय’जातको प्याजको बेर्ना किसानहरुले उत्पादन गरेका हुन् । 

जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका केही ठाउँका किसानहरुले व्यवसायिक रुपमा प्याजको बेर्ना उत्पादन गर्दै आएका छन् । दशरथचन्द नगरपालिका वडा नं २ थलालगाउँ र पाटन नगरपालिका ९ को खालीडाँडा, किचार लगायतका ठाउँमा किसानहरुले प्याजको बेर्ना उत्पादन गरेका हुन् । 

आफ्नो बारीमा झण्डै पाँच लाख रुपैयाँको प्याजको बेर्ना रहेको पाटन नगरपालिका ९ की जयन्ती बिजलेले बताइन् । पाटन नगरकार्यपालिकाकी सदस्य समेत रहेकी बिजलेले हरेक बर्ष प्याजको बेर्ना उत्पादन गर्दै आएको बताइन् । 

Atrya hospital

आफूहरुले उत्पादन गरेको प्याजको बेर्ना बैतडीमात्रै नभएर छिमेकी जिल्ला डडेल्धुरामा समेत विक्रि हुने गरेको बिजलेले बताइन् । अहिले गाउँका अन्य किसानहरु समेत प्याजको बेर्ना उत्पादनमा लागेको उनले बताइन् । 

यस्तै थलालगाउँमा झण्डै ४० परिवार किसानहरुले व्यवसायिक रुपमा प्याजको बेर्ना उत्पादन गर्दै आएका छन् । यो बर्ष पनि गाउँमा लाखौं रुपैयाँको प्याजको बेर्ना उत्पादन भएको किसान मोहनसिंह थलालले बताए । गाउँका किसानहरुले प्याजको बेर्नाबाट कम्तीमा १० हजारदेखि १ लाख सम्म कमाउने गरेको बताए । उनले भने ‘हामी गाउँका सबै किसानहरु प्याजको बेर्ना उत्पादन गर्दै आएका छौं । अहिले पनि गाउँमा लाखौंको प्याजको बेर्ना उत्पादन भएको छ ।’

थलालगाउँका किसानहरुले ‘बैतडी स्थानीय’जातको प्याजको बीउ समेत उत्पादन गर्ने गरेको र सोही बीउबाट बेर्ना बनाउने गरेको अर्का किसान बलबहादुर थलालले बताए । पछिल्लो समयमा व्यवसायिक रुपमै प्याजको बीउ र बेर्ना उत्पादन गर्ने गरिएको उनले सुनाए । उनले भने ‘हाम्रो जिविकोपार्जनको आधार नै प्याजको बीउ र बेर्ना उत्पादन भएको छ । गाउँका हामी सबैले बीउ र बेर्ना उत्पादन गर्दै आएका छौं ।’

थलालगाउँमा उत्पादन भएको प्याजको बेर्ना बैतडीमात्रै नभएर सीमावर्ती भारतीय बजारमा समेत विक्रि हुने गरेको किसान मोहन थलालको भनाइ छ । कृषि अनुसन्धान परिषदले ‘बैतडी स्थानीय जातको’प्याजलाई सूचीकृत समेत गरेको उनले बताए । 

प्याजको बेर्नाका लागि विभिन्न ठाउँबाट माग आउन शुरु भएको किसान बिजलेको भनाइ छ । आफूहरुले घरबाटै प्याजको बेर्ना विक्रि गर्ने गरेको उनले सुनाइन् । उनले भनिन् ‘व्यवसायिक रुपमै तरकारी खेतीमा लागेको बर्षौं भइसकेको छ । प्याजको बेर्ना पनि हामीले हरेक बर्ष उत्पादन गर्दै आएका छौं ।’

प्याजको बेर्ना रोप्ने बेलामा बैतडीका विभिन्न मठमन्दिरहरुमा जात्रा लाग्ने भएकाले जात्रामै पुगेर प्याजको बेर्ना विक्रि गर्ने गरिएको किसान बलबहादुर थलालले बताए । 

प्याज रोप्ने बेला शुरु भइसकेकाले जमीनलाई राम्रोसंग खनजोत गरेर रोप्नुपर्नेमा कृषि प्राविधिकहरुले जोड दिएका छन् । अन्यत्रको बेर्ना भन्दा बैतडीमै उत्पादन भएको बेर्ना यो क्षेत्रका लागि उपयुक्त भएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । उनले भने ‘उत्पादन र उत्पादकत्वको हिसाबले बैतडी स्थानीय जात नै यहाँका लागि उपयुक्त छ । किसानहरुलाई यतैको प्याजको बेर्ना रोप्न सुझाव दिन चहान्छु ।’
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update