
बैतडी –बैतडीको पाटन नगरपालिकामा अनियमितता भएको भनिएका योजनाको छानबिन शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको संयोजकत्वमा गठन गरिएको समितिले सोमबारदेखि छानबिन शुरु गरेको हो ।
नगरपालिकाले उपलब्ध गराएका योजनामाथि अनुगमन तथा छानबिन भइरहेको समिति संयोजक धामीले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले छानबिन गर्न लगाएका वडा नं ६ कै ४ वटा योजना रहेका छन् । वडा नं ६ को उद्यम विकासको घर निर्माण योजना, कोसेली घर निर्माण योजना, सेफ हाउसको घेरपर्खाल निर्माण योजना र उदयदेव मन्दिरको पर्खाल निर्माण योजना रहेका छन् ।
अन्य योजनाहरुको पनि छानबिन र अनुगमन गरिने समिति संयोजक धामीले बताए ।
छानबिन समितिमा जिल्ला समन्वय समिति प्रमुख धामीसँगै कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत गोविन्द रावल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर परशुराम शाह रहेका छन् ।
पाटन नगरपालिकाभित्रका विभिन्न योजनाहरुमा अनियमितता भएको भन्दै आन्दोलन समेत भएपछि गएको साउन २५ गतेको नगर कार्यपालिका बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
समितिले तत्कालै काम गर्ने जनाइएको भएपनि विभिन्न कारणले ढिलो गरि छानबिनको काम शुरु भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाबाट सञ्चालित विभिन्न योजनामा बिना कागजात भुक्तानी गरेको भन्दै नगर उपप्रमुख कमलसिंह बोहराकै नेतृत्वमा लेखा शाखामा तालाबन्दी गरिएको थियो । त्यसपछि अनियमितता भएको भनिएका सबै योजनाहरुको छानबिन हुनुपर्ने भन्दै एमालेले पाटनमा झिकडे आन्दोलन समेत गरिएको थियो ।
अनियमितता भएका भनिएका योजनाहरुको छानबिन गर्नका लागि छानबिन समिति बनाउने सर्वपक्षीय सहमतिपछि नगरपालिकामा कामकाज सुचारु भएको थियो ।