Sagun Khabar
सुर्नयामा तालाबन्दी प्रकरण : सेवाग्राही मारमा, जेनजी समूहले साझा छलफल गर्ने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएपछि सेवाग्राही मारमा परेका छन् । 

गएको शुक्रबार आफूहरुले माग गरेको सूचना नदिएको भन्दै जेनजी समूहका तर्फबाट गाउँपालिकामा तालाबन्दी गरिएको थियो । गाउँपालिकामा तालाबन्दी भएपछि पालिकाका सबै कामकाज रोकिएका छन् । 

गाउँपालिकामा तालाबन्दी भएपछि विभिन्न सेवाका लागि गाउँपालिका पुग्ने नागरिकहरुलाई भने सास्ती भएको छ । 

यता तालाबन्दी गरेपछि जेनजी समूहले सोमबार साझा छलफल गर्ने तयारी गरेको छ । आफूहरुका मागका बिषयमा सबै सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले सुर्नया गाउँपालिका –४ को बागथलामा साझा छलफलको आयोजना गरिएको जेनजी अगुवा विशाल भट्टले बताए । 

साझा छलफलमा आफूहरुले गाउँपालिकामा तालाबन्दी गर्नुको कारण र आफ्ना मागहरुको बिषयमा सबैलाई जानकारी गराउने उनले बताए । आफूहरु वार्ता र सम्वादकै माध्यमबाट समस्याको समाधान गर्न तयार रहेको र यसका लागि गाउँपालिका तयार हुनुपर्ने उनले बताए । 

यता गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले पनि समस्या समाधानको छलफलबाटै गरिने बताए । तालाबन्दी गर्ने पक्षसँग छलफल गरेर समस्याको समाधान गरिने उनको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update