
बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । शुक्रबार गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम रहेको थियो । स्थानीय युवाहरुले बिरोध जनाएपछि सार्वजनिक सुनुवाइ कार्यक्रम समेत स्थगीत गरिएको छ । युवाहरूले आफ्ना बिभिन्न माग राख्दै पालिकाको कार्यालयमा तालाबन्दी नै गरिदिएका छन् ।
यसअघि पटकपटक गाउँपालिकालाई सुचना माग गर्दागर्दै उपलब्ध नगराएको भन्दै युवाहरुले बिरोध जनाएका हुन् । गत जेठमै पालिकामा भएगरेका गतिविधिका बारेमा सूचना माग गर्दागर्दै उपलब्ध नगराएको युवा भुवन चन्दले बताए ।
कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।
२०७४ सालदेखिका हरहिसाब अघि राख्न माग राखेको समेत युवा बिशाल भट्टले बताए । सार्वजनिक सुनुवाइ कार्यक्रम नै बिथोलिएर स्थगित गरिएको छ ।
गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवरले माग भइ आएका सुचनाहरु चाँडो भन्दा चाँडो नियमानुसार उपलब्ध गराउने बताए ।