
बैतडी–सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी सोमबार बैतडी पुगेका छन् । विभिन्न धार्मिक कार्यक्रमहरुमा सहभागी हुनका लागि प्रदेश प्रमुख जोशी बैतडी पुगेका बताइएको छ ।
सोमबार दिउँसो बैतडी पुगेका प्रदेश प्रमुख जोशीलाई गोठलापानीमा स्वागत गरिएको नेपाली कांग्रेसका दशरथचन्द नगर उपसभापति सुरज चन्दले बताए ।
बैतडी पुगेका प्रदेश प्रमुख जोशीले मंगलबार प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजाका साथै दर्शन गर्ने कार्यक्रम रहेको छ । त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सहभागी भएर प्रदेश प्रमुख जोशी दार्चुला समेत पुग्ने कार्यक्रम रहेको छ ।
मंगलबार र बुधबार त्रिपुरासुन्दरी भगवतीको जात्रामा सहभागी भएर प्रदेश प्रमुख जोशी बैतडीको पाटन र मेलौली जाने कार्यक्रम समेत रहेको छ ।
बैतडीपछि दार्चुलाको मालिकार्जुन धामको दर्शन गर्ने र दार्चुलाको मालिकार्जुन गाउँपालिका ७ जोलजिवी क्षेत्रमा सञ्चालनमा रहेको मेलामा प्रदेश प्रमुख जोशी सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।
प्रदेश प्रमुख जोशीसंगै प्रदेशसभा सदस्य बहादुरसिंह थापा र दिवानसिंह बिष्ट पनि बैतडी पुगेका छन् । उनीहरु पनि त्रिपुरासुन्दरी जात्राका साथै जिल्लाका अन्य धार्मिक स्थलहरुको दर्शनका लागि बैतडी पुगेका नेपाली कांग्रेस दशरथचन्द नगर सचिव गणेशसिंह थापाले बताए ।
प्रदेश प्रमुख जोशीसहितको टोली मंसिर १० गते धनगढी फिर्ता हुने कार्यक्रम रहेको थापाले बताए ।