Sagun Khabar
‘अशक्तको घरमा प्रजिअ कार्यक्रम’ : ७२ बर्षीया वृद्धाले वडामै पाइन नागरिकता 

बैतडी –बैतडीमा ७२ बर्षीया वृद्धालाई वडा कार्यालयमै पुगेर नागरिकता प्रदान गरिएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका–१ पितलथलाकी ७२ बर्षीया भुन्टी विकलाई वडा कार्यालयमै पुगेर बिहीबार नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । 

‘अशक्तको घरमा प्रजिअ कार्यक्रम’ अन्तर्गत भुन्टीलाई उनकै वडामा पुगेर नागरिकता प्रदान गरिएको उनले बताइन् । सुस्त मनस्थितीकी भुन्टीले अहिलेसम्म नागरिकता पाउन सकेकी थिइनन् । वडा कार्यालयमार्फत अशक्त तथा अपांगता भएका नागरिकको विवरण संकलन गरेपछि भुन्टीलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

७२ बर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि भुन्टी विक र उनका आफन्त खुसी भएका छन् । नागरिकता नभएकै कारण सामाजिक सुरक्षाभत्ता समेत पाउन नसकेकी भुन्टीलाई अब सामाजिक सुरक्षा भत्ता प्राप्तिमा समेत सहज हुने भएको छ । 

दीदीको नागरिकता बनेपछि निकै खुसी लागेको उनका भाइ रमेश लुहारले बताए । यसअघि प्रशासन कार्यालयमा जान नसक्दा नागरिकता बनाउन नसकेको र वडामै नागरिकता पाएपछि धेरै खुसी लागेको उनले बताए । 

‘अशक्तको घरमा प्रजिअ कार्यक्रम’ अन्तर्गत जिल्लाभरीका अशक्त तथा अपांगता भएका नागरिकहरुको विवरण संकलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । नागरिकताबाट वञ्चित रहेका अशक्त तथा अपांगता भएका नागरिकहरुलाई सकेसम्म उनीहरुकै घरमा र नभए नजिकको वडा कार्यालयमा नागरिकता प्रदान गर्ने हिसाबले काम भइरहेको उनले बताइन् । 

यसअघि गएको बिहीबार दशरथचन्द नगरपालिका–६ की मानसिक अपांगता भएकी अस्मिता पन्तलाई उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । 

जिल्लाभरी डेढसयको हाराहारीमा यस्ता नागरिक हुन सक्ने आँकलन गरिएको छ । उनीहरु सबैलाई घरमै अथवा पायक पर्ने स्थानमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्ने हिसाबले योजना बनाइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update