बैतडी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बैतडी र बाजुरा जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरो तथा त्यसका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन ।
मुख्यमन्त्री भट्टले बाजुरा जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको क्षति तथा अवस्थाबारे बाजुराका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो। उहाँले बाढीपहिरोका कारण उत्पन्न जोखिम, क्षतिको अवस्था तथा स्थानीय स्तरमा भइरहेको उद्धार तथा व्यवस्थापनका विषयमा जानकारी लिएको बताइएको छ ।
त्यसैगरी, बैतडी जिल्लाको ढल्यामोडलगायत विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र त्यसका कारण सडक अवरुद्ध भएको विषयमा समेत मुख्यमन्त्री भट्टले जानकारी लिनुभएको छ। मुख्यमन्त्री भट्टले बैतडी र बाजुरामा अवरुद्ध भएका सडक तत्काल सञ्चालनमा ल्याउन तथा विपदबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सडक तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतका आवश्यक स्रोतसाधन परिचालन गरी अवरुद्ध सडक खुलाउने व्यवस्था मिलाउन मुख्यमन्त्री भट्टले निर्देशन दिएका हुन ।
मुख्यमन्त्री भट्टले विपद्को समयमा नागरिकको जनधनको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उद्धार, राहत तथा सडक सञ्चालनका लागि प्रदेश सरकारका सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुनसमेत निर्देशन दिनुभएको छ।




