Sagun Khabar
डोटीको बडीकेदारमा तीन दिन धार्मिक मेला 

डोटी –डोटीको बडीकेदारमा तीन दिने धार्मिक मेला शुरु भएको छ । सुदूरपश्चिमको धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा शुक्रवार, शनिवार र आइतवार धार्मिक मेला लाग्ने भएको हो । 

डोटीको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिक स्थल बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजा गरिने समितिले जनाएको छ । बडीकेदार धामलाई ठुलाकेदारको नामले पनि चिनिँदै आएको छ । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदार धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । बडीकेदारमा धाममा हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् ।  

स्वास्थ्य सन्देश
Atrya hospital

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्व बोकेको बडीकेदार क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकाले संयुक्त रूपमा काम गर्दै आएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए ।

कार्तिक शुक्ल पक्षमा बडीकेदार धाममा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । कार्तिक शुक्ल पक्ष शुरु भएदेखि नै धाममा भक्तजनहरुको घुइँचो लागेको हो । समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारू समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ । 

बडीकेदार धाममा पुग्न कैलालीको सहजपुरबाट डोटीको विपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडासम्म सडकको राम्रो सुविधा रहेको छ । 

सहजपुरदेखि ५० किलोमिटर पक्की सडक रहेको छ । सवारी पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिन्छ । 

बडीकेदार धाममा लाग्ने जात्राको अवसरमा बडिकेदार गाउँपालिकाले मंसिर १० गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै मंसिर १० गतेका दिन बडीकेदारमा लाग्ने जात्राको अवसरमा सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा रहेको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update