Sagun Khabar
कांग्रेस बैतडीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्ने 

बैतडी –नेपाली कांग्रेस बैतडीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग छलफल गर्ने भएको छ । भोलि(बिहीबार) जिल्लामा पार्टीबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र वडाअध्यक्षहरुसंग सामूहिक छलफल तथा बैठक हुने नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए । 

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गरिरहेको कामका बिषयमा छलफल गर्नका लागि सबै जनप्रतिनिधिहरुलाई बैठकमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय तहको निर्वाचनका बेला कांग्रेसका उम्मेदवारहरुले आफ्नो घोषणापत्र अनुसार काम गरे÷नगरेको बारेमा समीक्षा गरिने सहसचिव चन्दले बताए । 

Atrya hospital

जनप्रतिनिधिहरुसंगै कांग्रेसका महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति र जिल्ला कार्यसमितिका सदस्यहरुलाई समेत बैठकमा बोलाइएको छ । 

भोलि (बिहीबार) बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरुसंग छलफल गर्ने र दिउँसो २ बजे जनप्रतिनिधिसहितको संयुक्त छलफल गर्ने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

पार्टीमा दुईजना महासमिति सदस्यहरुको पद रिक्त भएकाले बैठकले यो बिषयमा पनि आवश्यक निर्णय लिने तयारी गरेको सचिव चन्दले बताए । यसअघि पार्टीको महासमिति सदस्य रहेका केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई पार्टीले कारवाही गरेपछि दुईजना महासमिति सदस्यहरुको पद खाली रहेको छ । 

यस्तै पर्सी (शुक्रबार) जिल्ला कार्यसमितिको बैठक पनि बोलाइएको सहसचिव चन्दले बताए । भोलिको छलफलबाट निस्केको निष्कर्षका आधारमा पार्टीको जिल्ला कार्यसमितिमा छलफल हुने सहसचिव चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update