बैतडी–भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि बैतडी प्रशासनले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतको धारचुलास्थित धौलीगंगा जलविद्युत् परियोजनाले बाँधमा जमेको सिल्ट सफाइ गर्न ढोका खोल्न लागेको जानकारी गराएको हो ।
भारतीय पक्षबाट प्राप्त पत्रअनुसार असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म करिब ४८ घण्टा बाँधका ढोका खुला रहनेछन् ।
बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ । ढोका बन्द गरेपछि पनि केही समय नदीको पानीको बहाव र स्तर बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै महाकाली नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा नदीमा जाने क्रममा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । महाकाली तटीय क्षेत्रका बासिन्दाहरुलाई बाँधको ढोका खुला रहेको बेला पूर्व सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।





