Sagun Khabar
नेपाली कांग्रेसको देउवा पक्षले शुरु गर्यो वडा अधिवेशन  

बैतडी –नेपाली कांग्रेसको संस्थापन पक्षले वडा अधिवेशन, पालिका अधिवेशन र क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा देउवा पक्षले आजदेखि वडा अधिवेशन शुरु गरेको छ । 

बैतडीमा आजदेखि वडा अधिवेशन शुरु गरिएको अधिवेशन आयोजक समितिका संयोजक एवं कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए । देउवा पक्षले जिल्लाका ८४ ओटै वडामा अधिवेशन गर्ने उनले बताए । 

केही वडामा अधिवेशन सम्पन्न भएको र केही वडामा अधिवेशनको प्रक्रिया शुरु भएको संयोजक बिष्टले बताए । संस्थापन पक्षले यसअघि नै वडा अधिवेशन सम्पन्न गरेर वडा कार्यसमिति चयन गरिसकेको छ । यो अवस्थामा देउवा पक्षले समानान्तर समिति बनाउने जनाएको छ । 

यसैबीच देउवा समूहले पुर्चौंडीको हाटमा अधिवेशन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमको आयोजना गरेर अधिवेशन सम्पर्क कार्यालयको उद्दघाटन गरिएको कांग्रेसका सरोज बमले बताए । 

सम्पर्क कार्यालय उद्दघाटन कार्यक्रममा पूर्व जिल्ला सभापति नरेन्द्रबहादुर बम, महाधिवेशन प्रतिनिधि दिपकबहादुर बम, पूर्व जिल्ला सदस्य मीना धानुक लगायतको सहभागिता रहेको थियो । 

पुर्चौंडीमा भोलिदेखि वडा अधिवेशन हुने बमले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update