बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –५ स्थित दशरथचन्द मावि सुन्दरखालीको ६७ औं बार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । समारोहमा दशरथचन्द नगरपालिका उपप्रमुख कौशिला चन्द, वडा नं ५ का वडा अध्यक्ष केशवराज लेखक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अभिभावक, शिक्षक,विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक चन्दले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार विद्यालयको आयव्यय विवरण १ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको प्रधानाध्यापक चन्दले बताए ।
कक्षा १२ सम्मको पढाई हुने उक्त विद्यालयमा अहिले २९७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
बार्षिकोत्सवको अवसरमा पदमराज भट्ट स्मृति शैक्षिक छात्रवृति विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने ६ जनालाई वितरण गरिएको छ । जेहेन्दार, अनुशासित, लगनशील विद्यार्थी छनौट गरेर जनही १ हजार ५ सयका दरले छात्रवृृति वितरण गरिएको प्रधानाध्यापक चन्दले बताए ।
यस्तै मेनेजर तेजबहादुर चन्द स्मृति छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत ८ जनालाई २ हजारका दरले प्रदान गरिएको छ । यस्तै प्रेमसिंह रावल र कलावतीदेवी रावल स्मृति छात्रवृति एकजनालाई वितरण गरिएको । उक्त छात्रवृतिको राशी ५ हजार रहेको छ ।
कक्षा ९ मा छनौट गरिएको एकजनालाई कक्षा १२ सम्म उक्त छात्रवृति प्रदान गर्ने गरिएको प्रधानाध्यापक चन्दले बताए ।
यस्तै विद्यालयमा राधा माधव सेवा समिति बैतडीले बालविकास कक्षादेखि कक्षा ५ सम्म अध्ययन गरिरहेका ५८ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको छ । समितिका अध्यक्ष हरिदत्त जोशीको उपस्थितीमा न्यानो लुगा वितरण गरिएको हो । समितिले गत बर्ष कालिका मावि थालीगडा र निरपाल आधारभू विद्यालय थानचोरका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो ।
यस्तै विद्यालयले बार्षिकोत्सवको अवसरमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको छ ।
यस्तै दशरथचन्द नगरपालिका वडा नं ५ को कार्यालयका तर्फबाट कक्षा १ देखि १२ सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई प्रति कक्षा १ जनाका दरले १२ हजार पुरस्कार प्रदान गरिएको छ । वडा अध्यक्ष केशवराज लेखकले विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि यो बर्षदेखि वडा कार्यालयका तर्फबाट पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै आधारभूत तह बालविकास देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकामध्ये सरसफाइ र उपस्थितीमा उत्कृष्ट रहेका बालबालिकाहरुका अभिभावकहरुलाई विद्यालयले सम्मान गरेको छ । यस्तै एसइई र कक्षा १२ मा ३ जीपीए भन्दा माथि अंक ल्याएका विद्यार्थीका अभिभावकहरुलाई समेत विद्यालयकातर्फबाट सम्मान गरिएको प्रधानाध्यापक चन्दले बताए ।
यस्तै विद्यालयमा प्राथमिक शिक्षकको रुपमा विगत १९ बर्षदेखि कार्यरत गणेशसिंह रावल र १७ बर्षदेखि कार्यरत शिशु सहयोगी कार्यकर्ता गीता भट्टलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ ।
यस्तै विद्यालयले राधा माधव सेवा समितिलाई पनि सम्मान गरेको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयका जेहेन्दार तथा गरीब विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेकाले विद्यालयकातर्फबाट सम्मान गरिएको हो ।




