Sagun Khabar
बैतडीको दुदिलाखान–गाँजरी सडक बन्द 

बैतडी–बैतडीको दुदिलाखान गाँजरी सडक सोमबार बिहानैदेखि बन्द गरिएको छ । गाँजरी–गर्जे सडक संघर्ष समितिले सडक बन्द गरेको हो । यसअघि संघर्ष समितिको बैठकले आफूहरुका माग पूरा नभएको भन्दै सडक बन्द गर्ने निर्णय गरेको थियो । 

सिगास गाउँपालिका वडा नं १ मा गठन भएको संघर्ष समितिले आज बिहानैदेखि सडक बन्द गरेको समितिका अध्यक्ष पवन चन्दले जानकारी दिए । 

सिगास गाउँपालिका वडा नं १ र २ का स्थानीयहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न ९÷१० घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको भएपनि सडक निर्माण नगरिएको भन्दै संघर्ष समितिले आन्दोलन थालेको हो । 

यसअघि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गरेको थियो । 

आफूहरुका मागका बिषयमा कुनै सुनुवाई नभएकाले दुदिलाखान–गाँजरी सडक बन्द गरिएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिको बन्दका कारण दुदिलाखान–गाँजरी सडकमा सवारी साधन चलेका छैनन् । 

५ दिनसम्म पनि आफूहरुका माग सम्बोधनका लागि प्रक्रिया अगाडि नबढेमा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने समितिले जनाएको छ । 

सिगास गाउँपालिकाको केन्द्र जोड्नका लागि गाँजरीदेखि कुर्चेनेटासम्म सडक पुगेको छ । तर स्थानीयहरुको विरोधका कारण त्यहाँ भन्दा अगाडि सडक निर्माण हुन सकेको छैन् । कोटिला–धौलाडी हुँदै गर्जे जोड्ने सडक कडा चट्टानका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन् । 

कुर्चेनेटा हुँदै गर्जे पुग्ने सडक निर्माण गर्नुपर्ने आफूहरुको माग रहेको संघर्ष समिति अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update