बैतडी–गृह जिल्ला बैतडीमा रहेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टलाई स्थानीय नागरिकहरुले ग्रामीण सडक स्तरोन्नतीमा ध्यान दिन आग्रह गरेका छन् ।
पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौली–पञ्चेश्वर खण्ड अनुगमनका लागि शिवनाथ गाउँपालिकाका विभिन्न स्थानमा पुगेका मन्त्री भट्टलाई स्थानीय नागरिकले ग्रामीण सडक स्तरोन्नतीमा ध्यान दिन आग्रह गरेका हुन् ।
शिवनाथ गाउँपालिका भारतसंग सीमा जोडिएको पालिका भएकाले महाकाली क्षेत्र सम्म पुग्ने सडकलाई सहज बनाउन स्थानीयहरुले आग्रह गरेका हुन् । ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि सामग्री, नदीजन्य सामग्री ढुवानीका लागि ग्रामीण सडक स्तरोन्नतीमा प्रदेश सरकारको ध्यान जानुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।
स्थानीयहरुका कुरा सुनेपछि मन्त्री भट्टले प्रदेश सरकारले नागरिकका मागलाई उच्च प्राथमिकतामा राखेको बताए । नागरिकले राखेका माग पूरा गर्न सरकारले सक्दो पहल गर्ने उनले बताए ।
यस्तै पाटन –पञ्चेश्वर सडकअन्तर्गत मेलौली–पञ्चेश्वर खण्डको समेत मन्त्री भट्टले अनुगमन गरेका छन् । सडक स्तरोन्नती गर्दा गुणस्तरमा ध्यान दिन मन्त्री भट्टले जोड दिए ।
मन्त्री भट्टलाई पूर्वाधार विकास कार्यालयका तर्फबाट सडक स्तरोन्नतीमा भइरहेको प्रगतिका बिषयमा जानकारी गराएको इन्जिनियर नरेश भुलले बताए । सडक स्तरोन्नतीमा बजेटको अभाव रहेकाले बजेटका लागि आग्रह गरेको उनले बताए ।




