बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पतालले प्रदान गरिरहेका सेवाहरु सार्वजनिक गरिएको छ । डिलाशैनी स्वास्थ्यचौकीकै भवनमा सञ्चालनमा रहेको अस्पतालले प्रदान गरिरहेका सेवाका बारेमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
अस्पतालले गत साउनदेखि सेवा दिइरहेको भएपनि औपचारिक रुपमा आजदेखि सेवा सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । मेडिकल अधिकृतको नेतृत्वमा अस्पतालमा स्वास्थ्यकर्मीहरुको टीम खटिएको उनले बताए ।
आधारभूत स्वास्थ्य सेवामा गाउँपालिकाबासीहरुको पहुँच विस्तारका लागि अस्पतालको सेवा सुचारु गरिएको अध्यक्ष जोशीले बताए । अस्पतालले अहिले चौबिसै घण्टा आकस्मिक सेवा साथै एक्सेरे सेवा, ल्याब सेवा, गर्भपतन सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।
दुर्गम क्षेत्रका नागरिकहरुलाई गाउँघरकै स्वास्थ्य संस्थाबाट सेवा पुर्याउने उद्देश्यले अस्पतालले सेवा विस्तार गरेको हो ।
मंगलबार गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालले प्रदान गर्ने सेवाहरुका बारेमा नागरिकलाई जानकारी गराइएको छ ।
यस्तै डिलाशैनीमा १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि स्थानीयहरुले १० रोपनी जमीनदान गरिसकेका र भवन निर्माण कार्य अघि बढ्ने गाउँपालिका अध्यक्ष जोशीले बताए ।




