Sagun Khabar
प्रदेश गौरवका योजनामा बजेटको अभाव हुँदैन : मुख्यमन्त्री शाह 

बैतडी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश गौरवका योजनाहरुमा बजेटको अभाव नहुने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले बिहीबार बिहान गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् । प्रदेशले प्राथमिकतामा राखेर निर्माण गरिरहेका योजनाहरुमा बजेटको अभाव नहुने उनले दाबी गरे । उनले भने ‘प्रदेश गौरवका योजनाहरुमा बजेटको अभाव हुँदैन् । प्रक्रियागत हिसाबले योजना निर्माणको कामहरु अगाडि बढीरहेको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले देशमा तीन तहका सरकार भएपनि अधिकार कार्यान्वयनमा समस्या रहेको बताए । तिनै तहका सरकारका आ–आफ्ना अधिकार भएपनि पूर्ण रुपमा अधिकार कार्यान्वयनमा समस्या देखिएको मुख्यमन्त्री शाहले बताए । उनले भने ‘तीनै तहका सरकारका एकल र साझा अधिकारहरु छन् । तिनीहरुको पूर्ण रुपमा कार्यान्व्यन हुनु आवश्यक छ ।’

प्रक्रियागत ढंगबाट आएका योजनाहरुमा मात्रै प्रदेश सरकारले बजेट विनियोजन गरेको मुख्यमन्त्री शाहले दाबी गरे । चोरबाटोबाट आएका योजनाहरुमा बजेट नपरेको उनको जिकिर छ । 

चोरबाटोबाट आएका योजनाहरुमा कहिँकतै बजेट परेको भए कारवाही गर्ने मुख्यमन्त्री शाहले दाबी गरे । 

प्रदेश सरकार अलोकप्रिय भएको र खारेज गर्नुपर्ने गुनासाको प्रसंगमा मुख्यमन्त्री शाहले प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताए ।  

शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा तीन तहकै सरकारबीच तालमेल नहुँदा समस्या उत्पन्न भएको मुख्यमन्त्री शाहले बताए । स्थानीय तहमा समेत कर्मचारी व्यवस्थापनका कारण समस्या भइरहेको उनको भनाइ थियो । 

मुख्यमन्त्री शाहले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिमसेती जलविद्युत् निर्माण प्रक्रिया अघि बढिसकेकाले यसमा शंका नरहेको जिकिर गरे । उनले नेपाल–भारत सीमानाका झुलाघाटलगायत दार्चुला र डडेल्धुरामा महाकाली नदीमाथि पुल निर्माण प्रक्रिया पनि अगाडि बढेको जानकारी पनि दिए । 

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update