Sagun Khabar
अवरुद्ध दुदिलाखान–गाँजरी सडक खुल्यो, कुर्चेनेटा–गर्जे सडकको अध्ययन गर्ने सहमति 

बैतडी–यही पौष १६ गतेदेखि अवरुद्ध रहेको बैतडीको दुदिलाखान –गाँजरी सडक सुचारु भएको छ । इलाका प्रहरी कार्यालय पाटनमा शुक्रबार बसेको सर्वपक्षीय बैठकपछि अवरुद्ध सडक सुचारु गर्ने सहमति भएको हो । 

गाँजरी–गर्जे सडक संघर्ष समितिले गाउँपालिकाको केन्द्र जोड्ने सडक यथाशीघ्र निर्माण हुनुपर्ने माग राख्दै यही पौष १६ गतेदेखि सडक अवरुद्ध गरेको थियो । सिगास गाउँपालिका वडा नं १ र २ का स्थानीयबासिन्दाहरुलाई गाउँपालिकाको केन्द्र पुग्न ९÷१० घण्टा पैदल हिड्नुपर्ने र सडक नबन्दा समस्या भएको भन्दै संघर्ष समिति गठन गरेको थियो । 

उक्त समितिले कुर्चेनेटाबाट गर्जे पुग्ने सडक यथाशीघ्र निर्माण हुनुपर्ने माग राख्दै दुदिलाखान–गाँजरी सडक अवरुद्ध पारेको थियो । 

इलाका प्रहरी कार्यालय पाटनमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको उपस्थितीमा बसेको बैठकले तत्काल सडक सुचारु गर्ने निर्णय गरेको हो । उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी, सिगास गाउँपालिका वडा नं १, २ र ६ का वडा अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र संघर्ष समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

कुर्चेनेटा–गर्जे सडक निर्माण कार्यलाई तत्काल अघि बढाउन जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले अनुगमन गर्ने निर्णय भएको संघर्ष समितिका अध्यक्ष पवन चन्दले जानकारी दिए । स्थलगत अध्ययन गरेपछि सडक निर्माण कार्य अघि बढ्ने भएपछि अवरुद्ध गरिएको सडक सुचारु गरिएको उनले बताए । 

पौष १६ गतेदेखि अवरुद्ध भएको दुदिलाखान–गाँजरी सडक सुचारु भएपछि सवारी साधन सञ्चालनमा आएका बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update