बैतडी–बैतडीका बालबालिकाहरुमा आँखा र दाँत सम्बन्धी समस्या बढी रहेको पाइएको छ । स्वास्थ्य कार्यालयले विभिन्न स्थानीय तहका विद्यालयहरुमा सञ्चालन गरेको शिविरमा बालबालिकाहरुमा आँखा र दाँतको समस्या बढी रहेको पाइएको हो ।
स्वास्थ्य कार्यालय बैतडीले ६ओटा पालिकाका ६ ओटा विद्यालयमा सञ्चालन गरेको शिविरमा बालबालिकाहरुमा आँखा र दाँतको समस्या बढी देखिएको डेन्टल हाइजिनिष्ट रोशन बलायरले बताए ।
गएको मंसिर अन्तिम साता सुर्नया गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका एक ÷एक ओटा विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
सुर्नया गाउँपालिका ७ स्थित केदार मावि कठमडा, पाटन नगरपालिका ७ स्थित उदयदेव मावि किम्तोली र दशरथचन्द नगरपालिका ६ स्थित सरस्वती संस्कृत मावि नगतडीमा मंसिर अन्तिम साता शिविर सञ्चालन गरिएको थियो ।
यस्तै यो हप्ता पञ्चेश्वर गाउँपालिका –४ स्थित जबलपुर मावि सैलोडा, शिवनाथ गाउँपालिकास्थित नागार्जुन मावि शर्माली र मेलौली नगरपालिका–२ स्थित धर्मघर मावि सलेनामा शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
जबलपुर माविमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १६३ जना बालबालिकाहरुको आँखा जाँच गरिएको थियो ४४ जनाको कान परीक्षण गरिएको थियो । ७७ जना बालबालिकाहरुको दाँत परीक्षण गर्दा २५ जनाको दाँत निकालिएको डेन्टल हाइजिनिष्ट बलायरले बताए । कीराले खाएर कामै नलाग्ने अवस्थामा रहेका दाँतहरु निकालिएको उनले बताए ।
यस्तै नागार्जुन मावि शर्मालीमा सञ्चालन गरिएको शिविरमा १२७ जना बालबालिकाहरुको दाँत परीक्षण गर्दा ४३ जनाको दाँत निकालिएको छ । यस्तै २ सय जनाको आँखा परीक्षण गरिएकोमा १४ जनाले चश्मा लगाउनुपर्ने अवस्था देखिएको छ ।
यस्तै धर्मघर मावि सलेनामा सञ्चालन भएको शिविरमा ९७ जनाको दाँत परीक्षण गरिएकोमा ३८ जनाको दाँत निकालिएको छ । यस्तै १५२ जना बालबालिकाहरुको आँखा परीक्षण गरिएकोमा ३० जनाले चश्मा लगाउनुपर्ने अवस्था देखिएको छ । यस्तै ४२ जनाको कान परीक्षण गरिएको डेन्टल हाइजिनिष्ट बलायरले बताए ।
विद्यालयहरुमा सञ्चालन भएको स्वास्थ्य शिविरमा बालबालिकाहरुको आँखा, कान र दाँत परीक्षण गर्दा बढी जसो दाँतसम्बन्धी समस्या देखिएको शिविरमा सहभागी सिनियर अहेव मनोज भट्टले बताए ।
दाँतको सरसफाइमा ध्यान नदिँदा यो समस्या बल्झिदै गएको उनले बताए । मुख स्वास्थ्यको बिषयमा अभिभावकहरु समेत जानकार नभएकाले समस्या भएको उनको भनाइ छ । उनले भने ‘हामीले दाँत महत्वपूर्ण अंग हो भन्ने बिषयमा थाहा पाउनु आवश्यक छ । दाँतको सरसफाइदेखि अन्य कुराहरुमा समेत ध्यान दिनुपर्ने हुन्छ ।’
ग्रामीण क्षेत्रमा नियमित रुपमा दाँत माझ्ने र सरसफाइ गर्नेको संख्या अझै पनि कम रहेको पाइएको डेन्टल हाइजिनिष्ट बलायरले बताए । ग्रामीण क्षेत्रका नागरिक अझै मुख स्वास्थ्यको बिषयमा जानकार नभएको उनले बताए । उनले भने ‘ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्यको बिषयमा त्यति जानकार छैनन् । मुख स्वास्थ्यका बिषयमा झन् समस्या छ ।’
दुर्गम क्षेत्रका विद्यार्थीहरुको स्वास्थ्य सेवामा पहुँच पुगोस भन्ने हेतुले विद्यालयहरुमा शिविर सञ्चालन गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।




